Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा र पूजालाई लिएर सविरले ‘छत्तिसको आँकडा’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2025/08/12

rekha thapa and pooja sharma

 

अभिनेत्री द्वय रेखा थापा र पूजा शर्मा ‘उपहार’पछि एकपटक फेरि फिल्ममा देखिने तयारीमा छन् । उनीहरुले कहिले ‘काली २’ त कहिले नयाँ एक्सन फिल्ममा काम गर्ने चर्चा चलेको भए पनि अब भने फिल्मको नाम यकिन भएको छ । ‘छत्तिसको आँकडा’ नामको फिल्ममा उनीहरुले सहकार्य गर्न लागेका हुन् । यसलाई ‘कस्ले चोर्‍यो मेरो मन’का निर्देशक सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।

यही शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा फिल्मको शुभ–मुहूर्त गरेर छायांकन सुरू गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । फिल्मले दुश्मनजस्तै रहेका दिदी-बहिनीको कथा भन्नेछ । यसको खुलासा पूजा स्वयंले गरेकी हुन् । पशुपतिमा चलिरहेको महायज्ञमा सोमबार सहभागी हुने क्रममा उनले फिल्मको कथावस्तुबारे जानकारी गराउँदै आफ्नो भूमिका रमाइलो रहेको बताइन् ।

‘यसको कथावस्तु एकदमै राम्रो छ । दिदी-बहिनीको बाजाबाज, लफडाहरु एकदमै रमाइलो छ,’ उनले भनेकी छन्, ‘मलाई कमेडी भूमिका खासै सुहाउँदैन भन्ने लाग्थ्यो । तर, ‘उपहार’मा दर्शकले मलाई कमेडी भूमिकामा एकदमै रुचाइदिनुभयो । ‘छत्तिसको आँकडा’ पनि मेरो चरित्र बेग्लै किसिमको छ ।’ उनले फिल्म आगामी चैत २८ गतेदेखि प्रदर्शनमा आउने घोषणा समेत गरेकी छन् ।

निर्देशक श्रेष्ठको कम्पनी काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा रेखा र पूजासँगै अभिनेता महेश त्रिपाठीको पनि अभिनय रहनेछ । ‘छत्तिसको आँकडा’पछि रेखाले महेशसँग अर्को फिल्म ‘क का कि की’मा पनि काम गर्दैछिन् । बाबुराम निरौला र शिवम् अधिकारीको संयुक्त लेखन रहेको फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमा हुने निर्देशक श्रेष्ठले जानकारी दिए ।