Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ र रिश्मा बिनै ‘रिमै’ले थाल्यो प्रचार अभियान

फिल्मीखबर, काठमाडौं, 2025/08/11

REEMAI

 

आगामी भदौ २० गतेदेखि ‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरूङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ प्रदर्शनमा आउने तयारीमा छ । दुई साताअघि सार्वजनिक टिजरले दर्शकमाझ चर्चा बटुलिरहँदा टिमभित्र भने विवाद देखिएको छ । निर्माताले प्राविधिकदेखि कलाकारसम्मको पूरा पारिश्रमिक अझै तिर्न बाँकी हुँदा फिल्मका मुख्य कलाकारले नै प्रचार बहिष्कार गरेका छन् ।

दयाहाङले सबैको पारिश्रमिक फर्छ्यौट नभएसम्म फिल्मको प्रचार नगर्ने अडान लिएर बसेका छन् । यही कारण उनले पोस्टर र टिजर समेत सेअर गरेका छैनन् । रिश्माले भने आफ्नो क्यारेक्टर पोस्टरलाई नै फेसबुकको प्रोफाइलमा राखेकी छन् । यसको अर्थ उनी टिमसँग असन्तुष्ट छैनन् । तर, हाल उनी अमेरिकामा भएकाले फिल्मको प्रचारमा प्रत्यक्ष रूपमा सहभागी हुन सकेकी छैनन् ।

फिल्मका दुई प्रमुख कलाकार प्रचारमा उपलब्ध नभए पनि निर्माण टिमले अब आफ्नै हिसाबले प्रचार अभियान सुरू गरेको छ । शनिबार ३१औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा फिल्मका निर्देशकसहितको टिम सहभागी भयो । त्यस र्‍यालीमा सहभागी अधिकांशले ‘रिमै’को टिसर्ट पहिरिएका थिए । जसमा केही विदेशी पर्यटकहरू पनि थिए ।

 

REEMAI  (1)


फिल्मको टिम र्‍यालीमा आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित सहभागी भएको थियो । निर्देशक खिल बहादुर गुरुङले फिल्ममा पनि आदिवासी समुदायको यथार्थ कथा, संस्कृति र चुनौतीलाई प्रभावकारी ढंगमा प्रस्तुत गरिएको बताए । उनका अनुसार फिल्मले आदिवासी समुदायको संस्कृति र रितिरिवाजको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

उपेन्द्र सुब्बाको लेखन रहेको ‘रिमै’मा दयाहाङ र रिश्मासहित गौमाया गुरूङ, कविता आले, माओत्से गुरूङ, पुस्कर गुरूङ, वीरमाया गुरूङ, वीरवल घले, डिवी गुरूङ, टेक गुरूङ, असिम सुब्बा लगायतको अभिनय छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको यो फिल्ममा वीरवल घले कार्यकारी निर्मातामा छन् भने निर्माताहरू टीका गुरूङ, जित यात्री गुरूङ र दुनबहादुर घले हुन् ।