Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिकटकर आभा ढुंगानाले ‘कश्यप’बाट फिल्मबाट डेब्यु गर्ने

फिल्मीखबर, काठमाडौं, 2025/08/11

aava dhungana

 

पछिल्लो समय टिकटक पृष्ठभूमिका कलाकारहरुको फिल्ममा डेब्यु गर्ने लहर नै देखिएको छ । गरिमा शर्मा, सनिशा भट्टराई, पवित्रा साकी (मिस पबी), सिम्रन पन्त जस्ता टिकटकरले फिल्मी करिअर सुरु गरिसकेको अवस्था अब अर्की टिकटक ‘स्टार’ आभा ढुंगानालाई पनि फिल्ममा देख्न पाइने भएको छ । उनले फिल्म ‘कश्यप’बाट डेब्यु गर्न लागेकी हुन् । 

उनलाई निर्माण पक्षले सोमबार फिल्ममा अनुबन्धित गरेको हो । निर्देशक दिनेश जी खड्काले स्क्रिन-टेस्ट र अभिनयको परिक्षण गरेरै आभालाई फिल्ममा लिइएको जानकारी दिए । उनका अनुसार फिल्ममा आभा एक्सन भूमिकामा देखिनेछिन् । त्यसका लागि केही दिनदेखि उनले एक्सनको प्रशिक्षण लिइरहेकी छन् । 

‘कश्यप’मा अनुबन्ध भएपछि आभा भन्छिन्, ‘फिल्मको कथावस्तु, गीत-संगीत र सम्पूर्ण पक्ष उत्कृष्ट बनाउन निर्माण टिमले निकै मिहिनेत गरेको छ । मलाई विश्वास छ, ‘कश्यप’ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ ।’ टिकटकमा साढे चार लाखभन्दा बढी फलोअर्स भएकी आभाले यसअघि केही म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । 

‘कश्यप’मार्फत बाल कलाकार रिद्धी खत्रीले पनि फिल्ममा डेब्यु गर्ने भएकी छन् । अडिसनमार्फत छनोट भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्त्वपूर्ण पात्रमा अभिनयको अवसर पाएकी हुन् । उनको अभिनयले फिल्मलाई नयाँ आयाम थप्ने निर्माण पक्षको विश्वास छ ।

केही महिनाअघि नै फिल्मको मुख्य अभिनेतामा सविन श्रेष्ठ अनुबन्धित भइसकेका छन् । यसमा उनी एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ । एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुन लागेको फिल्मको छायांकन साउन अन्तिमबाट सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । यसमा निर्देशक खड्का स्वयंको कथा छ ।