Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी २’ टिजर : ‘च्याब्रुङ मासियो भने लिम्बू मासिन्छन्’

फिल्मीखबर, काठमाडौं, 2025/08/11

 DAYAHANG RAI - MIRUNA MAGAR

 

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक गरिएको छ । सोमबार बिहान युट्युबमार्फत सार्वजनिक साढे २ मिनेटभन्दा लामो टिजरले फिल्मको कथा लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित रहेको जानकारी दिन्छ । टिजर मूलतः च्याब्रुङ बजाउन नआउने नाम्साङ (दयाहाङ राई)को वरिपरि घुमेको छ । 

च्याब्रुङमा नाच्न नआउने लिम्बूलाई ‘नाङ्गो पहाड’सँग तुलना गर्ने संवादबाट सुरु भएको टिजरले च्याब्रुङलाई लिम्बूको खुसीको स्वरको रुपमा व्याख्या गर्दै लिम्बूहरुको पहिचान नै च्याब्रुङ रहेको सन्देश दिएको छ । लिम्बू संस्कृति, पारिवारिक कलह र भावनात्मक उतारचढावको कथा पनि टिजरमा छ । फिल्ममा दयाहाङ राई र मिरुना मगर दम्पतीको भूमिकामा छन् ।

यसपालिको दशैंको छेको पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको पनि अभिनय रहेको छ । फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । 

निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ । २ वर्षअघि ‘जारी’ले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै बक्स अफिसमा सानदार कमाइ गरेकाले यसको सिक्वेल पनि सफल हुने विश्लेषण गरिएको छ ।