
अभिनेत्री नीता ढुंगानाले गत महिना आफ्नो निर्देशनमा बन्ने गरी फिल्म ‘सुख दुःख’को घोषणा गरेकी थिइन् । अर्को वर्षको दशैंको फूलपातीलाई फिल्मको प्रदर्शन मिति पनि तय भइसकेको छ । तर, नीताले यो फिल्मभन्दा अगाडि ‘पार्वती’ नाममा अर्को फिल्म बनाउने भएकी छन् । उनले शनिबार रक्षाबन्धनको अवसरमा दुईवटा पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेकी हुन् ।
नीता स्वयंको निर्देशनमा बन्न लागेको फिल्मको दुवै पोस्टरमा उनी आफैं चित्रित छिन् । एउटामा उनी गम्भीर मुद्रामा छाता ओढेर घाँटीमा सिठी र पानीको बोतल झुन्ड्याएको अवस्थामा देखिएकी छन् । अर्कोमा उनी हल्का मुस्कानसहित चुलबुले अन्दाजमा प्रस्तुत छिन् । उनको हाउभाउ हेर्दा फिल्ममा उनले ‘अटिजम’ भएको युवतीको भूमिकामा अभिनय गर्न लागेको हुनसक्ने देखिन्छ ।
नीता स्वयंको कथा र शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्मको छायांकन कबीर लाल र शाहिद लालले गर्नेछन् । बाबु-छोरा रहेका उनीहरु भारतीय छायाँकार हुन् । कबीर लालले यसअघि नीता निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ पनि खिचेका थिए । ‘सुख दुःख’ पनि उनले नै खिच्दैछन् । फिल्मको निर्मातामा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना रहेका छन् ।
नीताका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ । फिल्मको कलाकारमा अहिलेलाई नीता मात्र तय छिन् । आगामी असोजदेखि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । ‘पार्वती’ रिलिज लगत्तै नीताले ‘सुख दुःख’ बनाउनेछिन् ।

