
फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त समय दशैंलाई मानिन्छ । त्यसको कारण हो, लामो विदा । करिब एक हप्ता विदा हुने भएकाले फिल्म नराम्रो भए पनि दर्शक हलमा ओइरिन्छन् भन्ने विश्वासमा निर्माताहरूबीच दशैंमा फिल्म लगाउन हानाथाप नै चल्छ । अघिल्लो वर्षको दशैंमा एकसाथ तीन फिल्म प्रदर्शन भएका थिए । यसपालिको दशैंको फूलपातीमा पनि त्रिपक्षीय भिडन्त हुँदैछ ।
दशैंलाई लक्षित गर्दै आगामी असोज १३ गते (फूलपाती)लाई ‘बलिदान’, ‘हरि बहादुरको जुत्ता’ र ‘माइतीघर’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । अहिलेसम्मको अवस्था हेर्दा तीन फिल्मका निर्माताले उक्त मितिबाट हात झिक्ने झिनो सम्भावना पनि देखिएको छैन । फूलपातीका यी तीन फिल्ममा कलाकारहरूको ‘लाइनअप’ बलियो रहेकाले बक्स अफिसमा चर्को प्रतिस्पर्धा हुने निश्चित छ ।
एउटै मितिमा भिड्ने भएपछि यतिबेला तीन फिल्मका निर्माताबीच प्रचार सामाग्री सार्वजनिक गर्ने होडबाजी चलेको छ । एउटाको पोस्टर सार्वजनिक हुने वितिक्कै अर्कोको पनि आइहाल्छ । केही दिनदेखि यी तीन फिल्मका पोस्टर मात्र सार्वजनिक भइरहेका छन् । बिहीबार त सँगसँगै जस्तो दुई फिल्मका पोस्टर आए । यसले दशैंका फिल्मबीच अस्वस्थ प्रतिस्पर्धा सुरू भएको प्रष्ट संकेत गर्छ ।
गत शुक्रबार बिहान ठीक ८ बजे ‘हरि बहादुरको जुत्ता’को पहिलो पोस्टर सार्वजनिक गरिएको थियो । त्यसको केही घन्टापछि ‘माइतीघर’को पोस्टर आयो । सोही साँझ ‘बलिदान’ले पनि पोस्टर निकाल्यो । एकैदिन केही घन्टाको अन्तरमा श्रृंखलाबद्ध रूपमा तीन फिल्मको पोस्टर आउँदा त्यसले एकअर्कालाई ओझेलमा पारेका थिए । तीनवटै फिल्मका निर्माताको रणनीति पनि यही थियो ।
यो साता पनि तीन फिल्मबीच पोस्टर सार्वजनिक गर्ने होडबाजी रोकिएन । बुधबार ‘बलिदान’को थप चारवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो । ती पोस्टरको दर्शकमाझ राम्रै चर्चा भयो, जुन अन्य दुई फिल्मका निर्मातालाई सैह्य हुने कुरै थिएन । यसैले बिहीबार ‘हरि बहादुरको जुत्ता’ र ‘माइतीघर’ले एक-एक थान नयाँ पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’को चर्चालाई मत्थर पारे ।
यतिबेला तीन फिल्मका निर्माताबीच पोस्टर निकाल्न देखिएको होडबाजीलाई धेरैले पहिलो चरणको एउटा सानो नमुना मात्र रहेको बताएका छन् । रिलिजसम्म उनीहरूले प्रचारमा एकअर्कालाई उछिन्न कयौं रणनीति बनाएको चर्चा छ । त्यसका लागि अहिलेदेखि नै पैसाको खोलो बगाउन थालिएको छ । यसरी हेर्दा दशैं भिडन्तलाई तीन फिल्मका निर्माताले प्रतिष्ठाको लडाइँ बनाएको देखिन्छ ।

