अभिनेत्री नीता ढुंगानाले ‘ह्रस्व दीर्घ’मा झैँ आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा पनि भारतीय कलाकारलाई अभिनय गराउने भएकी छन् । त्यसका लागि उनले बलिउडका चर्चित कलाकार दीपराज राणालाई फिल्ममा भित्राएकी छन् । निर्माण टिमसँग केही चरणको छलफलपछि बिहीबार राणाले फिल्ममा काम गर्ने सहमति जनाएका हुन् ।
उनले पहिलो पटक नेपाली फिल्म खेल्न लागेका भने होइनन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’मा पनि उनले अभिनय गरेका थिए । नीताका अनुसार दीपराज ‘सुख दुःख’को कथा मन परेपछि काम गर्न तयार भएका हुन् । उनी कथा सुनेपछि भावुक भएको नीताले बताइन् । उनको भूमिकाबारे भने जानकारी गराइएको छैन ।
भिलेनको भूमिकाका लागि परिचित दीपराजले अमिताभ बच्चन, आमिर खान, सलमान खान, अजय देवगन, सैफ अली खान, रणवीर सिंह जस्ता बलिउड सुपरस्टारहरुसँग काम गरिसकेका छन् । ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘आरक्षण’, ‘दबंग ३’ जस्ता फिल्ममा उनको भूमिका प्रभावशाली थियो । उनको पछिल्लो रिलिज फिल्म ‘मेट्रो इन दिनो’ र ‘सितारे जमिन पर’ हो ।
दीपकराजअघि फिल्ममा मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा र विपना थापा अनुबन्धित भइसकेका छन् । भारतीय छायाँकार कवीरलाल र शाहिदलालको छायांकन रहने फिल्मलाई आगामी दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष छ । नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म पारिवारिक कथामा आधारित रहने जनाइएको छ । यही फिल्मबाट नीताले निर्देशनमा डेब्यु गर्न लागेकी हुन् ।

