
यस वर्षको पहिलो त्रैमासिक अवधि पूरा भइसकेको छ । यो तीन महिनामा एउटा मात्र नेपाली फिल्मले सफलता पायो । त्यो फिल्म हो, बैशाखमा प्रदर्शित ‘ऊनको स्वीटर’ । यसअघि र यसपछि आएका फिल्महरुले भने लगानी समेत उठाउन सकेनन् । जसले गर्दा फिल्म क्षेत्रमा एक खालको निराशा छाएको अवस्था छ । हल सञ्चालकहरुले भने विदेशी फिल्मबाट राम्रो आम्दानी गरिरहेका छन् ।
बैशाखदेखि नेपाली फिल्मले अपेक्षित व्यापार गर्न नसकिरहेको अवस्थामा यतिबेला सबैको चासो शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’प्रति छ । कारण, यी दुवैमा नाम चलेका कलाकारहरु छन् । प्रचार सामाग्रीले दर्शकमाझ एक किसिमको हाइप पनि बनाएको छ । यसैले दुई महिनादेखिको व्यापारिक खडेरीलाई यी दुई फिल्मले चिर्न सक्ने धेरैको अपेक्षा छ ।
‘मोहर’ र ‘सिटामोल’ले देशव्यापी लगभग समान शो पाएका छन् । झिनो संख्यामा मात्र ‘मोहर’ अगाडि छ । दुवै फिल्मका केही शोमा टिकट बिक्री राम्रो देखिएको छ । अब ‘वर्ड अफ माउथ’ कस्तो मिल्छ, त्यसले दुवै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ । आगामी बिहीबार हिन्दी फिल्म ‘वार २’ प्रदर्शन हुन लागेकाले दुवै फिल्मलाई यही साताभित्र लगानी उठाउनुपर्ने दबाब छ ।
रोचक कुरा के छ भने ‘मोहर’ र ‘सिटामोल’मा मुख्य अभिनेत्री एउटै छिन्, बेनिशा हमाल । पहिलो पटक उनको आफ्नै फिल्मबीच भिडन्त भएको हो । ट्रेलर हेर्दा दुवै फिल्मको कथा उनकै पात्रमा केन्द्रित रहेको देखिन्छ । र, दुवैमा उनी विवाहित महिलाको भूमिकामा प्रस्तुत छिन् । यी दुवै फिल्म व्यावसायिक रूपमा सफल भएको खण्डमा उनका लागि ‘दुवै हातमा लड्डू’ भनेझैँ हुनेछ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा बेनिशासहित पल शाह, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ । देउकी कुप्रथा (बाइसे-चौबिसे राज्यको समयमा देवी-देवताको सेवा गर्न केटी चढाउने प्रचलन)को कथालाई केन्द्रमा राखेर बनेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन् ।
त्यस्तै, राज बहादुर साने निर्देशित ‘सिटामोल’मा बेनिशासहित सौगात मल्ल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय रहेको छ । ‘जन्ते बाख्रो’का निर्देशक सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्ममा राज बहादुर साने र प्रदीप भारद्वाजको लेखन छ ।

