.jpg)
यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’का प्रमुख तीन पात्रको चरित्र चित्रण गर्ने नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कलाकारहरु हरिवंश आचार्य, प्रकाश सपूत र स्वस्तिमा खड्का चित्रित पोस्टरले फिल्म पूर्ण पारिवारिक र मनोरञ्जनात्मक रहेको संकेत गर्छ ।
हरिवंश आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को हुलिया र शैलीमा प्रस्तुत छन् । उनको कान समातेर प्रकाशले स्वस्तिमासँग माफी माग्न लगाइरहेको पोस्टरमा देखिन्छ । स्वस्तिमा निलो रंगको साडीमा आकर्षक देखिएकी छन् भने प्रकाश सहरिया युवाको गेटअप शैलीमा प्रस्तुत भएका छन् । उनीहरु एउटै परिवारका सदस्य रहेको अनुमान पोस्टरबाट लगाउन सकिन्छ ।
‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कृष्ण बहादुर थापाको छायांकन तथा नकुल खड्काको सम्पादन रहेको छ । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको संगीत रहेको फिल्ममा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईँको पार्श्व गायन छ ।

