Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लगालग फिल्म सम्झौता गर्दै विपना, ‘सुख दुःख’मा पनि भित्रिइन्

फिल्मीखबर, काठमाडौं, 2025/08/07

bipana thapa

 

करिब दुई दशकअघि नेपाली फिल्ममा राज गरेकी अभिनेत्री विपना थापा विवाह बन्धनमा बाँधिएपछि करिब १३ वर्ष अभिनयबाट टाढा रहिन् । सन्तान (छोरा) हुर्किएपछि गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’बाट कमब्याक गरेकी उनी अब भने लगालग फिल्ममा काम गर्ने मनस्थितिमा देखिएकी छन् । यसैले उनले एकपछि अर्को फिल्म सम्झौता गरिरहेकी छन् । 

केही साताअघि निर्देशक चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएकी विपनाले अब अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा पनि काम गर्ने भएकी छन् । उनलाई नीताले बुधबार फिल्ममा अनुबन्ध गरेकी हुन् । यसअघि नीता र विपनाले ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए ।

विपनाले ‘सुख दु:ख’मा आफू पनि जोडिन पाउँदा एकदमै खुसी लागेको बताएकी छन् । फिल्मको कथाले आफ्नो मन छोएको र नीताको निर्देशनमा काम गर्न आफू उत्साहित रहेको उनले बताइन् । फिल्ममा उनको भूमिकाबारे भने जानकारी गराइएको छैन । 

नीताले यसअघि मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई फिल्ममा अनुबन्ध गरिसकेकी छन् । २१ वर्षअघि बनेको ‘सुख दुःख’मा पनि उनीहरुको मुख्य भूमिका थियो । आगामी फागुनबाट छायांकन सुरु हुने फिल्मलाई भारतीय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्नेछन् । फिल्मलाई आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।