
यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै बुधबार चार मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका कलाकारहरु अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनलाई आ-आफ्नो पात्र लुक्समा देख्न सकिन्छ ।
पोस्टरमा ऋचा पछ्यौरा ओढेर रिसाहा भावमा देखिएकी छन् । सन्तोषको गेटअप भने डरलाग्दो छ । मानव कंकाल (खोपडी)लाई टाउकोमा बाँधेका उनले नाकमा बुलाकी जस्तो गहना लगाएका छन् । निधारमा कालो टीका लगाएका उनको आँखामा रिसको आवेगमा देखिन्छ । पोस्टरमा सन्तोषको चित्रणले फिल्ममा उनको चरित्र प्रभावशाली रहेको संकेत गर्छ ।
त्यस्तै, पोस्टरमा अर्पण शान्त भावमा प्रस्तुत छन् । आँखामा चस्मा लगाएका उनको पहिरन शैली सम्भ्रान्त व्यक्तिको जस्तो छ । अर्का कलाकार हेमन्त बुढाथोकीको लुक्सले भने साउथ फिल्म ‘बाहुबली’का कटप्पा पात्रको झल्को दिन्छ । लामो दाह्रीमा प्रस्तुत भएका हेमन्तलाई भयभीत मुद्रामा देख्न सकिन्छ । चारवटै पोस्टरको पृष्ठभूमिमा भने आगोले निम्त्याएको विनासको दृश्य छ ।
निर्देशक सन्तोष सेनका अनुसार टिजर सार्वजनिक हुनुअघि फिल्मका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने चार अनुहारलाई दर्शकसामु प्रस्तुत गरिएको हो । पोस्टर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।’
यसअघि फिल्मका दुई अभिनेता सौगात मल्ल र समीर भट्टसहित अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ । ‘१२ गाउँ’को सफलतापछि समीरले काम गरेको यो दोस्रो फिल्म हो । ‘प्रेमगीत’ निर्माता कम्पनी आसुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी छन् ।

