Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मोहर’ र ‘सिटामोल’को अग्रिम टिकट बिक्री सुरु, ओपनिङ कस्तो होला ?

फिल्मीखबर, काठमाडौं, 2025/08/06

mohar and citamol

 

करिब दुई सातादेखि नेपालका हलमा बलिउड फिल्म ‘सैयारा’ले बलियो पकड बनाइरहेको अवस्थामा अब यसलाई चुनौती दिन शुक्रबारबाट दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ प्रदर्शनमा आउँदैछन् । दुवै फिल्ममा स्थापित कलाकारहरू रहेकाले घरेलु बक्स अफिसमा सुखद् व्यापारको अपेक्षा गरिएको छ । मंगलबारबाट दुवै फिल्मको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ ।

खल्ती एपमा हेर्दा शो संख्यामा ‘मोहर’ अगाडि देखिन्छ । बुधबार दिउँसो साढे १ बजेसम्म फिल्मलाई देशव्यापी करिब ७० शो प्राप्त छ । त्यस्तै, ‘सिटामोल’ले देशव्यापी ६० हाराहारी शो पाएको देखिन्छ । अझै थुप्रै हलमा बुकिङ खुल्न बाँकी रहेकाले दुवै फिल्मको शोमा केही वृद्धि हुनेछ । अब यी दुवै फिल्मलाई सबैभन्दा ठूलो चुनौती भनेको दर्शकको उपस्थितिले प्राप्त शोहरू बचाइराख्नु हो ।

‘मोहर’ र ‘सिटामोल’ कथावस्तुको हिसाबले फरक भए पनि दुवैमा मुख्य अभिनेत्री भने एउटै छिन्, बेनिशा हमाल । उनको पहिलो पटक आफ्नै फिल्मबीच भिडन्त हुन लागेको हो । यसैले यतिबेला उनलाई प्रचारमा निकै धपेडी छ । ट्रेलर हेर्दा दुवै फिल्मको कथा उनीमा नै केन्द्रित देखिन्छ । यी दुवै फिल्मले व्यावसायिक सफलता पाएको खण्डमा उनका लागि ‘दुवै हातमा लड्डू’ भनेझैँ हुनेछ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा बेनिशासहित पल शाह, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ । देउकी कुप्रथा (बाइसे-चौबिसे राज्यको समयमा देवी-देवताको सेवा गर्न केटी चढाउने प्रचलन)को कथालाई केन्द्रमा राखेर बनेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन् ।

राजबहादुर सानेको निर्देशनमा बनेको ‘सिटामोल’मा भने बेनिशासहित सौगात मल्ल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय छ । ‘हात्तीछाप’का निर्देशक सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्ममा राजबहादुर साने र प्रदीप भारद्वाजको लेखन छ ।