Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मोहर’को प्रचार गर्न देश दौडाहामा पल, चितवनमा दर्शकसँगै नाँचे

फिल्मीखबर, काठमाडौं, 2025/08/04

paul shah chitwan 2

 

यतिबेला अभिनेता पल शाहलाई दौडधुप र धपेडी निकै छ । किनकि, एकातिर उनी अभिनीत फिल्म ‘मोहर’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ भने अर्कोतिर आफ्नो निर्माण तथा अभिनय रहने फिल्म ‘यानीमाया’को ढोरपाटनमा कार्यशाला चलिरहेको छ । यसैले उनलाई समय मिलाउन ठूलो सकस परेको छ । केही दिनयता भने उनले ‘मोहर’को प्रचारमा पर्याप्त समय दिइरहेका छन् ।

गत शुक्रबार फिल्मको प्रचारका लागि पशुपतिमा चलिरहेको महायज्ञ र सोही साँझ समाखुशीस्थित सिटी स्क्वायर मलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएका पल यतिबेला मोफसल दौडाहामा निस्किएका छन् । उनले आइतबार पूर्वी चितवनको पर्सास्थित म्याङ्गो जनज्योती हलमा आयोजित एक स्कुलको कार्यक्रममा दर्शकसँग साक्षात्कार गर्दै फिल्मको गीतमा नृत्य पनि गरे ।

बडिगार्डको साथमा कार्यक्रम स्थल पुगेका पललाई देखेपछि उनीसँग अंकमाल गर्न र फोटो खिच्न विद्यार्थीहरुबीच हानाथाप चलेको थियो । उक्त कार्यक्रममा पलसँगै फिल्मका गायक थानेश्वर गौतम पनि सहभागी थिए । दुवैले विद्यार्थीहरुलाई परिवारको साथमा ‘मोहर’ हेर्न निम्तो दिए । चितवनको कार्यक्रम सकाएर पल सोमबार पोखरा पुगेका छन् । त्यहाँ पनि उनले दर्शकसँग भेट गर्नेछन् ।

 

paul shah chitwan 1


ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पलसहित नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतको अभिनय छ । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । देउकी कुप्रथाको कथामा आधारित यो फिल्म आइतबार सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई ‘पीजी’ सर्टिफिकेट दिएको छ ।