
निर्देशक कृषा चौलागाईँको नयाँ फिल्म ‘जहाजैमा’ आगामी भदौबाट छायांकनको तयारीमा छ । जापान, फिलिपिन्स र नेपालमा खिचिने फिल्मका लागि मुख्य कलाकारको लाइनअप पनि लगभग तयार भइसकेको छ । तर, फिल्ममा अनुबन्ध भएका अभिनेता सौगात मल्लले भने हात झिकेका छन् । हालै खुट्टाको सर्जरी गरेका उनले पात्रका लागि तयारी नपुग्ने भएपछि फिल्म छाडेका हुन् ।
सौगात स्वयंले ‘जहाजैमा’बाट आफू अलगिएको फिल्मीखबरसँग पुष्टि गरे । ‘खुट्टाको कारणले गर्दा फिल्म छाडेको हुँ । भर्खरै मेरो खुट्टाको सर्जरी भएको छ । एक महिना आराम गर्नुपर्नेछ । त्यसले गर्दा फिल्मको पात्रका लागि तयारी गर्न समय नपुग्ने भयो । त्यही भएर म सहमतिमा नै फिल्मबाट बिदा भएको हुँ,’ उनले भने । सौगातका अनुसार फिल्ममा उनले केही एक्सन दृश्य गर्नुपर्ने थियो ।
‘जहाजैमा’बाट अलगिएपछि उनले यसै साता नयाँ फिल्म ‘परालको आगो’ सम्झौता गरेका छन् । उनका अनुसार यसमा खुट्टालाई दबाब पर्ने दृश्य छैनन् । ‘यसमा मेरो एक्सन दृश्य छैन । खुट्टालाई अप्ठ्यारो नपर्ने भएकाले फिल्म साइन गरेको हुँ,’ उनले प्रष्ट पारे । दुई सातायता फिल्म ‘सिटामोल’को प्रचारमा व्यस्त रहेका उनले अब एक महिना विश्राम लिएर ‘परालको आगो’मा काम गर्नेछन् ।
यतिबेला सौगातलाई लिएर फिल्म बनाउन निर्माताहरुबीच हानाथापको अवस्था छ । उनको लाइनअपमा मात्र आधा दर्जनभन्दा बढी फिल्म छन् । प्रदर्शन मिति पर्खेर बसेका फिल्मको संख्या पनि उत्तिकै छ । यस वर्ष सबैभन्दा धेरै फिल्म नै उनको रिलिज हुने देखिन्छ । बैशाखमा ‘जार’ र जेठमा ‘जन्ते बाख्रो’सहित यस वर्ष सौगातको फिल्म रिलिजको संख्या कम्तिमा पनि ७ पुग्ने निश्चित छ ।

