.jpeg)
यसै साता (शुक्रबार)बाट प्रदर्शनमा आएको फिल्म ‘रियाल रिङ्गेट’का निर्माताले भोलि सोमबारबाट प्रदर्शन रोक्ने निर्णय गरेका छन् । आइतबार निर्माता कम्पनी रेवल फिल्म्सका गगनलाल प्रधानले विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगितबारे जानकारी गराएका हुन् ।
हलहरुले उचित समयमा शो नदिएको र अप्रभावकारी समयमा मात्र प्रदर्शनको मौका उपलब्ध गराएका कारण दर्शकसामु फिल्म पुग्न नसकेकाले बाध्य भएर प्रदर्शन स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ । यस निर्णयबाट उत्पन्न असुविधाप्रति निर्माता प्रधानले क्षमायाचना गरेका छन् ।
‘दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा हुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारणले हामीले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भयौँ,’ निर्माता प्रधानले भने ।
निर्माताले जेजस्तो कारण देखाएर प्रदर्शन रोक्ने निर्णय गरेका भए पनि ‘रियाल रिङ्गेट’ले घरेलु बक्स अफिसमा दम तोडिसकेको छ । शनिबार काठमाडौंका एकाध हलमा सामान्य दर्शक देखिए पनि देशभर दयनीय अवस्था थियो । जसले गर्दा आइतबारबाट अधिकांश हलले फिल्मलाई हटाइसकेका छन् । यो अवस्थामा निर्माताले रिलिज स्थगित गर्नुको कुनै औचित्य देखिँदैन ।
विभोर पोखरेलले निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको अभिनय रहेको छ ।

