Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘क्याप्टेन साब’मा ३० सालको काठमाडौं देखाउन तीनकुनेमा सेट

फिल्मीखबर, काठमाडौं, 2025/08/03

Captain Sab

 

हलिउड र बलिउडमा कुनै ठाउँ विशेषको दृश्य खिच्न असम्भव भए त्यस अनुरुपको सेट निर्माण गरेर फिल्म छायांकन गर्नु सामान्य भइसकेको छ । त्यसका लागि करोडौं/अर्बौं बजेट छुट्याइन्छ । नेपाली फिल्ममा भने खिच्न सम्भव हुने दृश्यमा पनि भिएफएक्स र क्रोमाबाट चिट गरिन्छ । जसले गर्दा दृश्यहरू सजिव कम, नक्कली ज्यादा लाग्छन् । त्यसले फिल्मको सुन्दरता नै मार्ने गरेको छ ।

तर, निर्देशक दीपेन्द्र के. खनाल हत्तपत्त आफ्नो फिल्ममा चिट गर्न रुचाउँदैनन् । ‘मेयर’ यसको उदाहरण हो । यो फिल्मका लागि आमसभाको एउटा दृश्य खिच्न उनले १० हजारभन्दा बढी मान्छे भेला गराएका थिए । यतिबेला ‘क्याप्टेन साब’को छायांकनमा व्यस्त रहेका उनले यसमा पनि २०३०/४० सालको काठमाडौंको परिवेश देखाउन तीनकुने क्षेत्रका घरहरूलाई सेतो रंगले रंग्याएका छन् ।

३०/४० सालमा काठमाडौंका घर कस्ता थिए भन्ने देखाउन तीनकुने क्षेत्रमा सेट तयार गरिएको निर्देशक खनालले बताए । उनले भने, ‘काठमाडौंको व्यस्त सहरमा हामी पुरानो शैलीका नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले २०३० र ४० सालको दशकको फिल आउने गरी घरहरूमा रंग लगाएका छौँ । त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको डिजाइन गरेका छौँ ।’

छायांकन सेटबाट प्राप्त तस्वीरमा एकैखालका सेता र पुराना घर, बाटोमा पुराना सवारी साधन, खर्पन र डोकोमा व्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कष्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने जस्तो देखिएको छ । बजेट र शिल्पले भ्याएसम्म ३०/४० सालतिरको काठमाडौंको परिवेश र जीवनशैली देखाउने प्रयास गरिएको निर्देशक खनालको भनाइ छ ।

 

khagendra lamichhani


निर्माण टिमले उपलब्ध गराएको तस्वीरमा फिल्मका मुख्य जोडी खगेन्द्र लामिछाने र सुरक्षा पन्तलाई पनि देख्न सकिन्छ । खगेन्द्रले हातमा सानो बक्सा बोकेका छन् भने सुरक्षाले काखमा बच्चा च्यापेकी छन् । उनीहरू रिक्सामा चढ्न खोजिरहेका छन् । यो दृश्यले फिल्मका प्रमुख पात्रको संघर्षको समयलाई दर्शाउँछ । ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको जीवन कथामा आधारित फिल्म हो ।

क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित यो फिल्मको निर्मातामा निर्देशक दीपेन्द्रसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल रहेका छन् । निर्देशक खनालकै लेखन रहेको फिल्मलाई कृष्णबहादुर थापाले खिचिरहेका छन् । पटकथा प्रोडक्सन र यार्सा स्टुडियोको प्रस्तुति रहेको फिल्मको निर्माणमा वितरक कम्पनी रिच इन्टरटेनमेन्टले सहकार्य गरेको छ ।