Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफैँलाई जाँच्न फिल्म निर्देशन गर्ने सोच छ : सौगात मल्ल

फिल्मीखबर, काठमाडौं, 2025/08/03

Saugat Malla

 

अभिनयमा अब्बल कोटीका कलाकार हुन्, सौगात मल्ल । जुनसुकै भूमिकामा पनि प्राण भर्न सक्ने खुबी भएका उनले फिल्ममा आउनुअघि आरोहण गुरुकुलमा २० भन्दा बढी नाटक खेलेका थिए । त्यहीँ हुँदा उनले एउटा नाटक पनि निर्देशन गरे । उनले त्यो नाटक पेटभरि मःम खान पैसा पाइने लोभमा गरेका थिए । नभए त उनलाई निर्देशन भन्ने कुरा आफूबाट असम्भव छ भन्ने लाग्थ्यो ।

हालै काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले संघर्षका दिनमा पैसा नुहँदा भेटभरि मःम खान नपाएको दिन स्मरण गर्दै भने, ‘जति बेला म थिएटर गरिरहेको थिएँ, त्यसबेला मलाई एकदमै मःम खान मन लाग्थ्यो । एक प्लेट होइन, १०/१२ प्लेट नै खान सक्छु भन्ने लाग्थ्यो । तर, त्योबेला पैसा हुँदैन थियो । त्यहीबेला सुनील सर (पोखरेल)ले एउटा नाटक निर्देशनको प्रस्ताव गर्नुभएको थियो ।’

आफूले गुरु मान्ने सुनील पोखरेलबाट निर्देशनको प्रस्ताव आउँदा पनि उनले सुरुमा स्वीकार गरेका थिएनन् । उनलाई लाग्थ्यो, ‘निर्देशन झन्झटिलो काम हो ।’ तर, सुनीलले रकम नै तोकेपछि चाहिँ सौगात लोभिए । उनले पेटभरि मःम खान जति पैसा कल्पना गरिरहेका थिए, त्योभन्दा धेरै पैसा सुनीलले दिने वाचा गरेका थिए । त्यही पैसाको लोभमा उनले पहिलो पटक नाटक निर्देशन गरे ।

उनी सम्झन्छन्, ‘सुनील सरले तिमीले निर्देशन गर्दैनौ थाहा छ तर गर्‍यो भने पैसा राम्रो दिन्छु भन्नुभयो । तर, मैले निर्देशन त चान्स नै छैन, बरु पैसा पनि चाहिन्न भनेको थिएँ । तर, सुनील सरले यति पैसा दिन्छु भनेपछि चाहिँ म चुप्प भएँ । त्यो पैसाले मैले पेटभरि खान चाहेको मःम आउँछ भन्ने भयो । अनि, एउटा नाटक चाहिँ मःम खानकै खातिर भए पनि गर्नुपर्‍यो भनेर निर्देशन गरेको थिएँ ।’

उनले १२ दिनमा तयार पारेको नाटक त्यसबेला एक प्रतियोगितामा प्रथम समेत भएको थियो । तर, त्यसपछि उनले कहिल्यै नाटक निर्देशन गरेनन् । भन्छन्, ‘त्यो नाटक तयार गर्न साह्रै गाह्रो भएको थियो । भोकनिन्द्रा सबै बर्बाद हुने रैछ । म रिसाउँदो पनि रैछु भन्ने नै नाटक निर्देशन गर्दा थाहा भएको हो । त्यतिबेला के थाहा पाएँ भने गर्न चाहिँ सकिने रैछ, तर अब गर्दिनँ भन्ने भएको थियो ।’

नाटकमा जमिरहेका बेला सौगातले ‘कागबेनी’बाट फिल्ममा डेब्यु गरेका थिए । त्यसयता ५० बढी फिल्म खेलिसकेका उनलाई फिल्म निर्देशन गर्ने सोच धेरै पटक आएको छ । तर, फेरि सोचिहाल्छन्, ‘गर्न पनि त सक्नु पर्‍यो ।’ यद्यपि, उनले फिल्म निर्देशन गर्ने कल्पना भने गरिरहेका छन् । उनले आफूले निर्देशन गर्ने फिल्म यस्तो हुन्छ भनेर स्पष्ट चित्र पनि दिमागमा बनाइसकेका छन् ।

फिल्म निर्देशनबारे सौगात भन्छन्, ‘मैले फिल्म बनाए भने यस्तो यस्तो हुन्छ भनेर कल्पना चाहिँ गरिसकेको छु । तर, त्यो कहिले पूरा हुन्छ, थाहा छैन । मैले फिल्म बनाएँ भने पनि आफ्नै पैसाले गर्छु । ताकि राम्रो लाग्यो भने निकाल्ने, लाज लाग्यो भने नदेखाउने । म आफैँलाई जाँच्नका लागि निर्देशन गर्ने सोच हो ।’ उनको नयाँ फिल्म ‘सिटामोल’ यही शुक्रबार (२३ साउन)बाट प्रदर्शन हुँदैछ ।