Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तेल भिसा’का निर्माता कार्कीमाथि ठगीको आरोप

फिल्मीखबर, काठमाडौं, 2025/08/03

Shivraj Karki

 

पछिल्लो समय नेपाली फिल्मका निर्मातामाथि श्रृंखलाबद्ध रूपमा ठगीको आरोप लागिरहेको छ । केही महिनाअघि ‘रावायण’ फिल्मका कार्यकारी निर्माता सुसन पाठकले पाँचजना विद्यार्थीहरूलाई विदेश पढ्न पठाइदिने भन्दै ५० लाख बढी असुलेर फिल्ममा लगानी गरेको खुलासा भएको थियो । फिल्म ‘फ्लप’ भएपछि उनी फरार भएको भन्दै पीडित विद्यार्थीहरूले मिडिया गुहारेका थिए ।

गत वर्ष प्रदर्शित फिल्म ‘तेल भिसा’का निर्देशक शंकर घिमिरे र प्रस्तुतकर्ता ऋचा घिमिरेमाथि त ठगीको आरोपमा प्रहरीमा उजुरी नै परेको थियो । उनीहरुले अमेरिका लैजान्छु भन्दै ठगेको आरोप लागेको थियो । यतिबेला सोही फिल्मका निर्माता शिवराज कार्कीमाथि पनि ठगीको आरोप लागेको छ । एक महिलाले फेसबुकमा स्टाटस नै लेखेर कार्कीबाट आफू ठगिएको बताएकी छन् ।

मञ्जु धमला नामक महिलाले शनिबार फेसबुकमा शिवराजले ‘तेल भिसा’को टिसर्ट लगाएको फोटो समेत राखेर आफ्नो पैसा फिर्ता मागेकी छन् । उनले लेखेकी छन्, ‘मेरो २ लाख ५० हजार पैसा फिर्ता दिनुस् दाई । मेनपावर चलाएको छु, विदेश पठाउँछु भनेर  दुनियाँको पैसा ठग्ने काम नगर्नुस् । कसैले पनि यो दाईलाइ विश्वास नगर्नुहोला । इज्जत, लाज-सरम भन्ने कुरा यो दाईलाइ रहेनछ ।’

 

Shivraj Karki


मञ्जुले उक्त पोस्टको कमेन्टमा निर्माता कार्कीलाई राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमार्फत् एक लाख रुपैयाँ पठाएको ‘स्क्रिनसट’ समेत पोस्ट गर्दै आफूसँग प्रमाण रहेको दाबी गरेकी छन् । शिवराजमाथि ठगीको आरोप लगाउने मञ्जु मात्र भने छैनन् । उनले गत १३ अप्रिलमा आफ्नो अन्तर्वार्ता सेअर गरेको फेसबुक पोस्टको कमेन्टमा पनि केहीले आफ्नो पैसा फिर्ता मागेका छन् ।

शिवराज काठमाडौंको चाबहिलमा रहेको ‘पी एन्ड एम इनोभेटिभ सर्भिसेज’ (भिसा काउन्सेलिङ सेन्टर)का सञ्चालक हुन् । यो कम्पनीले इटाली, सर्बिया, अजरबैजान, क्रोएसिया, जापान जस्ता देशमा विद्यार्थी तथा कामदारहरू पठाउने गरेको छ । चलचित्र निर्माता संघका साधारण सदस्य समेत रहेका शिवराजले ‘तेल भिसा’भन्दा अगाडि २०७५ सालमा ‘चि मुसी चि’ पनि बनाएका थिए ।