.jpg)
‘नाईँ नभन्नू ३’ र ‘समर लभ’का निर्देशक मुस्कान ढकाल ६ वर्षपछि निर्देशनमा फर्किने भएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रत्यौली’को शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ । पोस्टरको पृष्ठभूमिमा ढुंगा र माटोले बनेको एउटा सानो घर देखिन्छ । यसले ग्रामीण परिवेशको कथामा फिल्म बन्न लागेको संकेत गर्छ ।
रञ्जन रिजाल फिल्मको प्रस्तुतकर्तामा रहेका छन् । उनले यही फिल्मबाट निर्माणमा हात हाल्न लागेका हुन् । २०६२/६३ सालदेखि म्यूजिक भिडियोमा मोडलका रूपमा सक्रिय रिजालले एक सयभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् । नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकाल ‘रत्यौली’को निर्मातामा रहेका छन् ।
नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित भएर बन्न लागेको फिल्मको छायांकन आगामी तिहारपछि सुरु हुनेछ । निर्देशक ढकालका अनुसार अहिले फिल्मका लागि लोकेशन र कलाकार फाइनल गर्ने काम सुरु भएको छ । फिल्मले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने उनले बताए ।
नेपाली समाजमा विवाह संस्कारको विशेष अङ्गका रूपमा रत्यौलीलाई लिने गरिन्छ । विवाहको दिन महिलाहरुले बेहुलाको घरमा गाउने परम्परागत लोकगीत नै रत्यौली हो । यही नाममा बन्न लागेको फिल्मले सांस्कृतिक पक्ष उजागर गर्ने अपेक्षा गरिएको छ ।

