Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परालको आगो’मा जितुको ठाउँमा भित्रिए सौगात

फिल्मीखबर, काठमाडौं, 2025/08/01

saugat malla (2)

 

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित भएर निर्माण हुन लागेको सोही नामको फिल्ममा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । उनलाई निर्माण पक्षले जुठे दमाईको पात्रको भूमिकामा अनुबन्ध गरेको हो । यसअघि यो भूमिकामा अभिनेता जितु नेपाल देखिँदै थिए । तर, उनले नभ्याउने भएपछि फिल्ममा सौगातलाई लिइएको हो ।

सौगात अनुबन्ध भएसँगै फिल्ममा मुख्य कलाकारको लाइनअप पूरा भएको निर्माता सुशील पोखरेलले जानकारी दिए । यसअघि फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीबीचको झगडाको कथा हो । फिल्ममा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् । उनले पहिलो पटक घरबाहिरको फिल्ममा काम गर्न लागेकी हुन् । बुझिए अनुसार फिल्ममा प्रकाशले चामेको भूमिका निभाउनेछन् । लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दी जिल्लामा सुरु गरिँदैछ ।

सुशील देवकोटाको लेखन रहेको फिल्ममा संकल्प भुजेलको छायांकन, सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपूतको गीत लेखन तथा वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपूूतको संगीत तथा रामजी लामिछाने नृत्य निर्देशन रहनेछ । मैनाली कथा पुरस्कार ट्रस्टबाट अनुमति दिएर ‘परालको आगो’ कथामा फिल्म बन्न लागेको हो ।