Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हरिबहादुरको जुत्ता’को फर्स्टलुकमा हरिवंशको हरिबहादुर अवतार

फिल्मीखबर, काठमाडौं, 2025/08/01

haribahadur ko jutta

 

यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गते नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुँदैछ । ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ गरी तीन फिल्म एकसाथ प्रदर्शनको तयारीमा छन् । यसमध्ये ‘बलिदान’ले प्रचारलाई आक्रामक तुल्याइरहेको अवस्थामा ‘हरिबहादुरको जुत्ता’को टिम पनि फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचारमा उत्रिएको छ । 

पोस्टरमा फिल्मका मुख्य अभिनेता हरिवंश आचार्यलाई प्रफुलित मुद्रामा देख्न सकिन्छ । उनी आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को हुलिया र शैलीमा प्रस्तुत छन् । स्टिलको बाकस बोकेका उनले पछाडि भिरेको झोलामा जुत्ता झुन्ड्याएका छन् । निर्माण पक्षले यो पोस्टर सार्वजनिक गर्नुको उद्देश्य हरिवंशले फिल्ममा निभाएको पात्रको लुक्स र मनोदशा (मुड) दर्शाउनु रहेको देखिन्छ । 

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको संगीत तथा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईँको स्वर रहेको छ । यसमा हरिवंश आचार्य स्वयंको कथा तथा पटकथा लेखन छ ।