अभिनेता नाजिर हुसेनले पहिलो पटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यु चोलो’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेटभन्दा लामो ट्रेलरमा तेस्रोलिंगी पात्रले आफ्नो पहिचान खुलाउन गरेको संघर्षलाई देखाइएको छ ।
आफ्नो लैङ्गिकता चिनाउन खोज्ने छोरा र त्यसलाई दबाउन खोज्ने परिवारबीचको संघर्ष र अन्तर्द्वन्द्वलाई ट्रेलरले प्रस्तुत गर्छ । जन्मिँदा पुरुष भए पनि हुर्किँदै गर्दा महिलाको पहिरन र गरगहनामा शृङ्गारिन मन पराउने छोरा (नाजिर हुसेन)ले बाबुको लाहुरे बनाउने सपना त्यागेर कसरी आफ्नो लैंगिक पहिचान खुलाउँछ भन्ने ट्रेलरमा देख्न सकिन्छ ।
नाजिर तेस्रोलिंगीदेखि ट्रान्सवुमन महिलाको भूमिकामा जीवन्त देखिएका छन् । उनले उक्त भूमिकाका लागि गरेको मिहिनेत ट्रेलरमा प्रष्ट झल्किन्छ । फिल्ममा उनको आमाको भूमिका अभिनेत्री सञ्चिता लुईँटेल र बुबाको भूमिका विशाल पहारीले निभाएका छन् । यो फिल्म आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, निशा बजगाईँ लगायतको पनि अभिनय रहेको फिल्मलाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । आकाश बुढाथोकी र भि–भन्से जानुबोनको निर्माण तथा आलोक शुक्लाको छायांकन रहेको फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा छ । फिल्मलाई अन्तर्राष्टिय बजारमा अमेरिकी कम्पनी बफेलो एट्लेले वितरण गर्दैछ ।

