
नेपाली फिल्मको एउटा कालखण्डकी चर्चित अभिनेत्री हुन्, तृप्ति नाडकर । भारतीय नागरिक भए पनि उनले आफ्नो अभिनय कलाबाट नेपालीहरुको मन जितेकी थिइन् । उनको करिअरको पहिलो फिल्म ‘कुसुमे रुमाल’ नै सर्वाधिक चर्चित भएको थियो । यसपछि उनले २० भन्दा धेरै फिल्ममा काम गरिन् । ‘सम्झना’, ‘साइनो’, ‘लाहुरे’, ‘दुनियाँ’ जस्ता फिल्म तृप्तिका यादगार मानिन्छन् ।
सन् २०११ मा प्रदर्शित फिल्म ‘मेरो लभ स्टोरी’पछि भने उनको अभिनय यात्रामा विश्राम लाग्यो । अहिले परिवारसहित भारतमा बस्दै आएकी उनी एक दशकदेखि शिक्षण पेशामा आबद्ध छिन् । संगीत विषय पढाउने गरेकी उनलाई अब दर्शकले १४ वर्षपछि फिल्ममा हेर्न पाउने भएका छन् । उनले ‘कमेडी दरबार’ समूहको फिल्म ‘ककाकिकी’बाट अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।
केही दिनअघि सार्वजनिक फिल्मको फर्स्टलुक पोस्टर सामाजिक सञ्जालमा सेअर गर्दै तृप्तिले भगवान् पशुपतिनाथले आफूलाई फेरि नेपाली फिल्ममा काम गर्न बोलाएको बताएकी छन् । उनले लेखेकी छन्, ‘नेपालको माया साँच्चै मेरो लागि, म भित्रैदेखि गाँसिएको छ । लामो समयपश्चात पुनः मेरो भगवान् पशुपतिनाथजीले मलाई नेपालको लागि मेरो सर्वोत्तम दिन बोलाउनुभएको छ ।’
तृप्तिले नेपालका लागि फेरि अभिनय यात्रा सुरु गर्न पाएकोमा फिल्मका निर्देशक बिक्की अग्रवाल र ‘ककाकिकी’को टोलीप्रति आभार व्यक्त गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘सबैको आशीर्वादले यस फिल्मको लागि मेरो सर्वोत्तम दिन प्रयास गर्नेछु । म पक्का छु कि तपाईंहरुले यसको आनन्द लिनुहुनेछ । मेरा सम्पूर्ण प्यारा सह-कलाकारहरुसँग काम गर्न पाउँदा म धेरै खुसी छु ।’
तप्तिका छोरा धीरज नाडकरले ‘बाबरी’ (२०७९)बाट नेपाली फिल्ममा डेब्यु गरिसकेका छन् । यसमा उनको अभिनय रुचाइएको थियो । तर, यसपछि उनी नेपाली फिल्ममा देखिएका छैनन् । तप्तिले इच्छा देखाएको भए उनको ‘बाबरी’बाटै कमब्याक हुने थियो । तर, उनले आफूलाई भन्दा पनि छोरालाई फिल्ममा खेलाउन प्रस्ताव गरेपछि निर्माता–निर्देशकले धीरजलाई डेब्यु गराएका थिए ।

