
यही शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘रियाल रिङ्गेट’ प्रिमियरमा प्रशंसित भएको छ । बुधबार काठमाडौंमा आयोजित प्रिमियरमा उपस्थित भएका फिल्मकर्मीदेखि विश्लेषकसम्मले फिल्मको कथावस्तुको प्रशंसा गरे । वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतार्ने ‘रियाल रिङ्गेट’ केवल फिल्म मात्र नभई लाखौँ प्रवासी नेपालीहरूको यथार्थ कथा रहेको प्रायःको प्रतिक्रिया थियो ।
कलाकार मदनकृष्ण श्रेष्ठ फिल्म हेरेपछि भावुक बनेका थिए । उनले भने, ‘यो फिल्म हेर्दा देश दुख्ने रहेछ । इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइनँ । ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँ ।’ उनले नेपालका राजनीतिज्ञहरूलाई ‘रियाल रिङ्गेट’ हेर्न सुझाव पनि दिएका छन् ।
वरिष्ठ लोकगायक प्रेमराजा महतले फिल्मको कथादेखि संगीत पक्ष सबै उत्कृष्ट रहेको बताए । उनले भने, ‘धेरैपछि यसरी कुनै नेपाली फिल्म हेरेँ । फिल्मको कथा, अभिनय, संगीत सबै उत्कृष्ट छन् । राजनीतिज्ञहरूले पनि यो फिल्म हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउँछ ।’
.jpeg)
प्रिमियरमा राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी, कलाकारहरु रेश मरहठ्ठा, किरण केसी, सन्दीप क्षेत्री, गायक द्वय न्ह्यू बज्राचार्य र रामचन्द्र काफ्ले, साहित्यकार अमर न्यौपाने, लेखक प्रदीप भारद्वाज, पत्रकार टीकाराम यात्री लगायतको पनि उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री नीता ढुंगाना साडीमा सजिएर पुगेकी थिइन् ।
विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको फिल्ममा नीतासहित प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सुवास थापा मगर, विशाल थापा लगायतको अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई हरि घलेले छायांकन गरेका हुन् ।

