Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पाँडे’ले ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने, मुहूर्तसँगै छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2025/07/31

movie

 

हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’का कलाकार कुमार कट्टेल (जिग्री)पछि अब सोही सिरियलका अर्का चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे)ले पनि फिल्म निर्देशन गर्ने भएका छन् । उनले ‘झरीपछिको इन्द्रेणी’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यो फिल्मको बिहीबार ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभ-मुहूर्त गर्दै छायांकन पनि सुरु गरिएको छ ।

बाबु-छोराबीचको कथामा बन्न लागेको फिल्ममा निर्देशक घिमिरेसहित गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतको अभिनय रहनेछ । गणेशले यही फिल्मबाट ९ वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेका हुन् । उनी पछिल्लो पटक फिल्म ‘होमवर्क’मा देखिएका थिए, जुन २०१६ मा रिलिज भएको थियो ।

४५ दिनको सेड्युलमा काठमाडौं, ललितपुर र भक्तपुरमा छायांकन हुन लागेको फिल्ममा कुमार व्यञ्जनकारको कथा रहेको छ भने गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा तथा संवाद छ । फिल्मलाई बुद्ध थापाले छायांकन र सुशील कडरियाले निर्माण गर्नेछन् । फिल्मको एउटा गीत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाउने जनाइएको छ ।

यसअघि ‘सक्किगोनि’ सिरियलको निर्देशन गरेका अर्जुनले ‘झरीपछिको इन्द्रेणी’ आफ्नो ‘अपग्रेड भर्सन’ रहेको बताएका छन् । उनले फिल्मबारे भने, ‘यो पूर्ण फेमिली ड्रामा हो । घर-परिवारमा भइरहने घटनाक्रम, जुन हामी सबैले भोगेका छौं, त्यसलाई नै कथावस्तु बनाएका छौं ।’ फिल्ममा अग्रज कलाकारहरुसँग सहकार्य गर्न पाउँदा आफूले भाग्यमानी महसुस गरेको उनले बताए ।