बलिउडका चर्चित अभिनेता चंकी पाण्डे यसै साता काठमाडौं घुमेर स्वदेश फर्किए । बौद्धस्थित पाँचतारे होटल हयात रिजेन्सीमा दुई दिन बसेका उनले आइतबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा पूजाआजा समेत गरेका थिए । उनले त्यहाँ खिचेका केही तस्वीरहरू इन्स्टाग्राममा सेअर गर्दै लेखेका थिए, ‘साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न पाउँदा भाग्यमानी महसुस भयो ।’
चंकीले बुधबार पुनः इन्स्टामा काठमाडौं घुमघामका चार नयाँ तस्वीर सेअर गर्दै यहाँको सुन्दरता र आतिथ्यताको प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘१९८९ पछि काठमाडौं घुम्न गएँ । धेरै सुन्दर, धेरै हरियाली र सबैभन्दा न्यानो आतिथ्य ।’ चंकीले उल्लेख गरे अनुसार उनको काठमाडौं भ्रमण ३६ वर्षपछिको हो । यसअघि पनि उनी पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएको जनाइएको छ ।
बलिउडसँगै एक दर्जन बढी बंगलादेशी फिल्ममा पनि काम गरेका चंकी सन् २००६ मा रिलिज भएको फिल्म ‘अपना सपना मनी मनी’मा नेपाली पात्रको भूमिकामा समेत देखिएका थिए । यही शुक्रबारबाट उनको नयाँ फिल्म ‘सन अफ सरदार २’ प्रदर्शनमा आउँदैछ । यतिबेला उनका भतिज (अहान पाण्डे)को डेब्यु फिल्म ‘सैयारा’ले भारतीय बजारमा उत्साहजनक कमाइ गरिरहेको छ ।

