Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

९ वर्षपछि फिल्म अभिनयमा फर्किँदै गणेश उप्रेती

फिल्मीखबर, काठमाडौं, 2025/07/30

Ganesh Uprety

 

कुनै समय कलाकार गणेश उप्रेतीले नेपाली फिल्ममा बलियो उपस्थिति जनाएका थिए । आफ्नो सक्रिय करिअरमा झन्डै एक सय फिल्ममा काम गरेका उनी कुनैमा बुबाको भूमिकामा देखिए त कुनैमा नकारात्मक भूमिकामा प्रस्तुत भए । फिल्ममा उनको राम्रै करिअर थियो । तर, केही वर्षअघि अमेरिका गएर त्यहीँ बसोबास गर्न थालेपछि उनको अविच्छिन्न अभिनय यात्रामा विश्राम लाग्यो ।

अब ९ वर्षपछि उनी पुनः अभिनयको दुनियाँमा फर्किएका छन् । लोकप्रिय हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’का कलाकार अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘झरीपछिको इन्द्रेणी’बाट उनले अभिनयमा पुनरागमन गर्न लागेका हुन् । फिल्मको छायांकनका लागि उनी केही दिनअघि अमेरिकाबाट काठमाडौं आइसकेका छन् । अहिले उनी वर्कसपमा व्यस्त छन् ।

फिल्मको कथा गणेश उप्रेतीकै पात्रको वरिपरि घुम्ने बताइएको छ । यसअर्थ उनी फिल्मका मुख्य पात्र हुन् । उनीसहित फिल्ममा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला, ‘मुन्नी’को रुपमा चर्चित प्रियाना आचार्य लगायतको पनि अभिनय रहने जनाइएको छ । सामाजिक कथामा बन्न लागेको फिल्मको बिहीबार ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा शुभ–मुहूर्त गरेर छायांकन थालिँदैछ ।

गणेश उप्रेती पछिल्लो पटक फिल्म ‘होमवर्क’मा देखिएका थिए, जुन २०१६ मा रिलिज भएको थियो । ‘भाग्य रेखा’बाट फिल्म करिअर सुरु गरेका उनले ‘लक्ष्मी पूजा’, ‘दैव’, ‘ए मेरो हजुर’ जस्ता फिल्ममा गरेको अभिनय सशक्त मानिन्छ । उनले सन् २००० मा प्रदर्शित फिल्म ‘छोरो’को निर्माण समेत गरेका थिए । अब उनी नेपाल बढी बसेर निरन्तर फिल्म गर्ने सोचमा रहेको जनाइएको छ ।