
बलिउड सुपरस्टार आमिर खानको पछिल्लो फिल्म ‘सितारे जमीन पर’ले विश्वव्यापी सुखद कमाइ गर्यो । भारतमा मात्र फिल्मले १६४ करोड कमाएको छ । हलमा रिलिज हुनुभन्दा अघि यो फिल्मको डिजिटल अधिकार खरिद गर्न केही विश्वप्रख्यात ओटीटी प्लाटफर्मले प्रयास गरेका थिए । नेटफ्लिक्सले भारु १ सय २५ करोडको अफर समेत दिएको थियो । तर, आमिरले फिल्म बेचेनन् ।
अब उनले दर्शकलाई फिल्म देखाउन एउटा अभूतपूर्व कदम उठाएका छन्, जसले बलिउडमा नै हलचल ल्याएको छ । उनले कुनै ओटीटी प्लाटफर्ममा नभए सीधै युट्युबमा फिल्म रिलिज गर्ने निर्णय गरेका छन् । युट्युबको मूभिज-अन-डिमान्ड मोडलमा १ अगस्टमा फिल्म रिलिज हुनेछ । यसलाई पोस्ट–थिएट्रिकल वितरणका लागि एक नयाँ दृष्टिकोणको प्रतीकको रूपमा लिइएको छ ।
दर्शकले फिल्म निःशुल्क भने हेर्न पाउने छैनन् । भारतीयका लागि भारु सय रुपैयाँ मूल्य तोकिएको छ भने अमेरिका, क्यानडा, ब्रिटेन, अस्ट्रेलिया, सिंगापुरसहित ३८ अन्तर्राष्ट्रिय बजारमा प्रत्येक क्षेत्रका लागि स्थानीय मूल्य निर्धारणका साथ फिल्म उपलब्ध हुने भेराइटी म्यागजिनमा उल्लेख छ । आमिरले धेरै दर्शकमाझ बलिउड फिल्म पुर्याउन यो निर्णय लिएको भेराइटीसँग बताएका छन् ।
उनले भनेका छन्, ‘करिब १५ वर्षअघि मलाई महसुस भयो कि हाम्रो सबैभन्दा सफल फिल्म (थ्री इडियट्स र दंगल) हलमा हेर्नेको संख्या कुल जनसंख्याको लगभग २/३ प्रतिशत हो । तब मेरो मनमा विचार आयो कि हामी बाँकी ९७-९८ प्रतिशतसम्म कसरी पुग्ने ? यही कारण मैले युट्युबको ‘पे-पर-भ्यू’ मोडल अपनाउने फैसला गरेको हुँ । किनकि, ५५ करोड भारतीयले युट्युब प्रयोग गर्छन् ।’

