Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाज शरणम्’पछि महेशलाई ३० फिल्म अफर, ६ वटा सम्झौता

फिल्मीखबर, काठमाडौं, 2025/07/30

Mahesh Tripathi

 

एउटा फिल्मले कलाकारको करिअर कुन हदसम्म कायापलट गर्न सक्छ भन्ने उदाहरण हुन्, महेश त्रिपाठी । गत फागुनमा रिलिज भएको फिल्म ‘लाज शरणम्’मा उनले कर्णाली भेगको एक दु:खी पात्रको भूमिकामा गरेको अभिनयको सर्वत्र प्रशंसा हुँदा उनको करिअर नै नयाँ उचाइँमा पुगेको छ । यसअघि मुस्किलले फिल्म पाउने गरेका उनलाई अहिले फिल्म अफरको ओइरो लागेको छ ।

‘लाज शरणम्’ रिलिजपछि उनलाई ३० वटा फिल्मबाट अभिनयको प्रस्ताव पुगेको छ । त्यसमध्ये उनले ६ वटा फिल्ममा मात्र काम गर्ने निर्णय गरेका छन् । हालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘चार महिनामा मैले ३० वटा जति फिल्मको स्क्रिप्ट सुनेँ होला । त्यसमध्ये ६ वटा फिल्ममा काम गर्ने सहमति भएको छ । ‘ककाकिकी’ त्यसमध्ये एक हो । अरु फिल्म चाहिँ घोषणा हुन बाँकी छ ।’

महेश ‘लाज शरणम्’बाट आफूले नसोचेको प्रशंसा पाएको बताउँछन् । उनी भन्छन्, ‘मलाई यसबाट त अभूतपूर्व नै प्रशंसा मिल्यो । सामाजिक सञ्जालमा धेरै म्यासेजहरु आए । कतिले फोन गरेर र स्टाटस लेखेर पनि कामको प्रशंसा गर्नुभयो । त्यसले मलाई अझ ऊर्जा मिलेको छ ।’ ‘लाज शरणम्’मा गरेको अभिनयका कारण उनलाई दर्शकहरूले ‘परफेक्ट स्टार’को ट्याग समेत दिएका छन् ।

यो फिल्मका लागि महेशले गरेको मिहिनेत आफैंमा कठोर थियो । उनले फिल्मको पात्रका लागि झन्डै २० केजी तौल घटाएका थिए । ‘मैले ‘लाज शरणम्’का लागि १९.५ केजी तौल घटाएको थिएँ । अहिले तौल लगभग रिकभर गरिसकेको छु,’ उनी अगाडि भन्छन्, ‘फिल्म गर्नुपूर्व ७५ केजीको थिएँ । फिल्मका लागि २० केजीभन्दा धेरै घटाउने लक्ष्य राखेको थिएँ । तर, १९.५ केजी घटाउन सकेँ ।’

महेशलाई ‘लाज शरणम्’ले दर्शकको ठूलो वर्गमा चिनाएको भए पनि उनले त्यसअघि केही फिल्ममा स्मरणीय काम गरिसकेका छन् । उनले फिल्म ‘हल्कारा’मा गरेको अभिनय निकै सशक्त मानिन्छ । ‘चपली हाइट ३’, ‘फेरि रेशम फिलिली’ जस्ता फिल्ममा पनि उनको अभिनयको वाहवाही भएको थियो । ‘लाज शरणम्’ भने महेशको करिअरको ‘टर्निङ प्वाइन्ट’ बनेको छ भन्दा फरक पर्दैन ।