Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र बेनिशालाई प्रश्नः ‘झ्यानाकुटी’ र ‘सिटामोल’मा के अन्तर छ ?

फिल्मीखबर, काठमाडौं, 2025/07/29

Saugat Malla, Benisha Hamal

 

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले फिल्म ‘झ्यानाकुटी’मा पहिलो पटक सहकार्य गरेका थिए । यसमा दम्पतीको भूमिका निभाएका उनीहरूको जोडीलाई दर्शकले निकै रुचाए । अब ७ वर्षपछि यो जोडीले यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’मा काम गरेका छन् । संयोग के छ भने यसमा पनि उनीहरु श्रीमान्-श्रीमती भएर देखिएका छन् ।

‘सिटामोल’को टिजर सार्वजनिक भएदेखि धेरैले यसलाई ‘झ्यानाकुटी २’ समेत भनिरहेका छन् । त्यसको मुख्य कारण दुवै फिल्ममा देखिएको तीनवटा समानता हो । पहिलो, दुवैमा सौगात र बेनिशा दम्पतीको भूमिकामा छन् । दोस्रो, दुवै फिल्ममा उनीहरुबीच झगडाको दृश्य छ । तेस्रो, दुवै ग्रामीण परिवेशमा बनेका हुन् । यसैले ‘सिटामोल’ ‘झ्यानाकुटी’ जस्तै देखिएको टिप्पणी भैरहेको छ ।

तर, सौगात कलाकार एउटै भए पनि कथावस्तुको हिसाबले दुवै फिल्म फरक रहेको दाबी गर्छन् । भन्छन्, ‘हामी ‘झ्यानाकुटी’मा श्रीमान्-श्रीमती थियौं । ‘सिटामोल’मा पनि दम्पतीकै भूमिकामा छौं । र, दुवैमा ग्रामीण भेगको कथा छ । यी दुईवटा पक्ष चाहिँ मिल्छ । तर, विषय उठानको हिसाबले यी दुवै फिल्म एकदमै फरक छन् । ‘सिटामोल’ हेरेपछि दर्शकहरूलाई त्यो महसुस हुनेछ ।’

सौगातको भनाइमा बेनिशा पनि पूर्ण सहमत देखिन्छिन् । सोमबार पत्रकारसँगको कुराकानीमा उनले भनिन्, ‘दुवै फिल्ममा हामी श्रीमान्-श्रीमती बनेका छौं र दुवैमा ग्रामीण परिवेशको कथा छ । तर, दुवैको कथा नितान्त फरक छ । ‘झ्यानाकुटी’मा हामीबीच अर्कै कारणले झगडा भएको थियो भने ‘सिटामोल’मा झगडाको कारण अरु नै छ । यसैले दर्शकलाई फरक अनुभव अवश्य हुन्छ ।’

बेनिशा ‘सिटामोल’लाई सम्बन्ध मजबुत बनाउन सिकाउने फिल्मको रुपमा अर्थ्याउँछिन् । ‘औषधी सिटामोलले बिग्रिएको सम्बन्ध निको नपर्ला । तर, यो ‘सिटामोल’ले सम्बन्धलाई अझै कसरी मजबुत बनाउने, अप्ठ्यारोमा के गर्दा ठीक हुन्छ भन्ने सिकाउँछ,’ उनी अगाडि भन्छिन्, ‘आफ्नो मान्छेले साथ दिँदा कस्तो हुन्छ र नदिँदा घर–परिवारको अवस्था कस्तो हुन्छ भन्ने कुरा पनि फिल्ममा छ ।’

सौगातले फिल्ममा सिटामोल नामलाई कथा भन्नका लागि विम्बको रुपमा प्रयोग गरिएको बताएका छन् । फिल्मले बिग्रिएको सम्बन्धलाई निको पार्ने पनि उनको दाबी छ । उनी भन्छन्, ‘औषधी सिटामोलले ज्वरो र टाउको दुखेको निको पार्छ । ‘सिटामोल’ फिल्मले चाहिँ बिग्रिएको सम्बन्धलाई निको पार्न मद्दत गर्छ । के गर्दा सम्बन्ध राम्ररी अगाडि बढ्छ भन्ने कुरा यसमा देखाइएको छ ।’