Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चर्चामा ‘कोशेढुङ्गा’को ‘नत्र भने जिन्दगी’ गीत, दर्शकबाट उच्च प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2025/07/29

KOSHEDHUNGA

 

अचेल नेपाली फिल्ममा तीजको प्रसंग र तीज गीत विरलै समावेश हुने गरेको छ । पछिल्लो पटक फिल्म ‘द सिक्रेट अफ राधा’मा तीज गीत ‘पाउमा पाउजु’ समावेश थियो, जुन निकै चर्चित भयो । यतिबेला भने फिल्म ‘कोशेढुङ्गा’को तीज गीत ‘नत्र भने जिन्दगी’ चर्चामा छ । रिलिजको साता दिनमै यो गीतले हिट हुने लक्षण देखाइसकेको छ । किनकि, टिकटकमा गीत भाइरल भइरहेको छ ।

८ दिनमा गीतलाई युट्युबमा १२ लाखभन्दा बढी भ्यूज मिलेको छ भने फेसबुकमा ७० लाखभन्दा धेरैले हेरिसकेका छन् । त्यस्तै, टिकटकमा २० हजार बढी भिडियो बनिसकेको छ । यो गीतमा भिडियो बनाउने अधिकांश महिला देखिन्छन् । कति भिडियो लाखौं पटक समेत हेरिएका छन् । गीतमा टिकटक बनाउनेको संख्या दिनहुँ बढिरहँदा त्यसको प्रभाव युट्युब भ्यूजमा पनि देखिएको छ ।

निर्माण टिमले गीतप्रति दर्शकलाई आकर्षित गर्न एउटा प्रतियोगिता समेत घोषणा गरेको छ । आगामी भदौ ४ गतेसम्म समयसीमा तोकिएको प्रतियोगितामा भाग लिन ह्यास्ट्याग ‘नत्र भने जिन्दगी व्यर्थ छ’ राखेर टिकटक भिडियो बनाउनुपर्ने हुन्छ । त्यसरी बनेका भिडियोमध्ये केहीलाई पुरस्कृत गरिने जनाइएको छ । यसले गर्दा पनि ‘कोशेढुङ्गा’को गीतमा टिकटक बनाउनेहरु बढिरहेका छन् ।

गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ । तीजको सेटअपमा तयार पारिएको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरलाई चित्रण गरेको छ । महिलाहरुले तीजका गीतमा कसरी आफ्नो बह पोखेर रमाइलो गर्छन् भन्ने यो गीतमा देखाइएको छ ।

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सरोज पौडेलको निर्देशन छ । उनी कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक हुन् । फिल्ममा ऋचा शर्मा, सुरक्षा पन्त, आर्यन सिग्देल, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, हिउँवाला गौतम लगायतको अभिनय छ । नेपालसहित ४२ भन्दा धेरै देशमा यो फिल्म एकसाथ रिलिज हुने जनाइएको छ ।