चर्चित टिकटकर आयुष सिंह ठकुरी अब फिल्मको हिरो बन्ने भएका छन् । उनले कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन फिल्म ‘राम नाम सत्य’बाट डेब्यु गर्न लागेका हुन् । उनलाई सोमबार निर्माण पक्षले फिल्ममा अनुबन्ध गरेको हो ।
फिल्म साइन गरेपछि आयुषले सञ्चारकर्मीसँग भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’ उनले यसअघि केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
निर्देशक चन्दका अनुसार आयुषले फिल्मका लागि यतिबेला एक्सनको तालिम लिइरहेका छन् । उनले चाँडै अभिनयको कोर्स पनि सुरु गर्ने चन्दले बताए । फिल्ममा यसअघि विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डिसी, रवि गिरी लगायतका कलाकारहरु अनुबन्ध भइसकेका छन् ।
उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । चितवन र काठमाडौंमा खिचिने फिल्ममा संजय लामाको डीओपी तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ ।

