
हास्य व्यंग्यमा आधारित चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’को समूहले पहिलो फिल्मको रूपमा ‘क का कि की’ निर्माण गर्ने भएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा उल्लेख भए अनुसार फिल्मलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले निर्देशन गर्नेछन् । ‘कमेडी दरबार’को निर्देशन गर्दै आइरहेका उनीहरु श्रीमान्-श्रीमती हुन् ।
पोस्टरमा फिल्मका मुख्य चार कलाकार तृप्ति नाडकर, रेखा थापा, गौरी मल्ल र महेश त्रिपाठीलाई देख्न सकिन्छ । यही फिल्मबाट तृप्तिले डेढ दशकपछि कमब्याक गर्न लागेकी हुन् । पोस्टरमा बुढ्यौली गेटअपमा प्रस्तुत भएका तृप्ति र गौरी रेखासँग लडिरहेका देखिन्छन् । महेश भने तनावग्रत भावमा चित्रित छन् । पोस्टरले फिल्म कमेडी जनरामा तयार हुने संकेत गर्छ ।
श्रद्धा प्रसाईँ र सुमित्रा थापाले निर्माण गर्ने फिल्ममा ‘कमेडी दरबार’का कलाकारहरू मिस पबी, पवन खतिवडा ‘म्याकुरी’, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिमल्सेना, सीडी विजय अधिकारी लगायतको पनि अभिनय रहने जनाइएको छ । सुमन अग्रवालको कन्सेप्ट तथा बिक्की अग्रवालको पटकथा रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् ।
फिल्मको घोषणा गर्दै बिक्कीले आफू संसारकै सबैभन्दा भाग्यमानी व्यक्ति रहेको बताउँदै अग्रजहरूसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सबैले भन्छन् कि हाम्रो फिल्म अरूभन्दा फरक छ, तर यो फिल्मले कमेडीको फरक स्वाद अवश्य दिन्छ भन्ने दृढ आशा छ ।’ उनका अनुसार असोज १७ गतेबाट फिल्मको छायांकन सुरू गरिनेछ ।

