.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको निर्माण रहेको फिल्म ‘अभिमन्यु’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । खुसी र तनाव झल्किएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । एउटा पोस्टरमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवा चित्रित छन् । मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रसन्न देखिन्छन् । यसले उनीहरुबीच प्रेम रहेको दर्शाउँछ ।
दोस्रो पोस्टरमा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ र सरिता गिरी प्रस्तुत छन्, जहाँ सबै तनावमा देखिन्छन् । सोही पोस्टरमा एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृत (किरण श्रेष्ठ)ले बयान लिइरहेका छन् भने एक महिला प्रहरीले क्यामेराले भिडियो खिचिरहेकी छन् । यो पोस्टरले अपराधको कथालाई संकेत गर्छ ।
‘अभिमन्यु’ आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको हिन्दी भर्सन भने असोज ६ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ । नेपाली र हिन्दी भर्सन दुवै विश्वव्यापी रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए । फिल्मले पैसाले प्रलोभनको चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । मुकेश खनालको लेखन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्मातामा रहेका छन् । फिल्ममा शरद महतोको डिओपी तथा मदन घिमिरे सम्पादन रहेको छ ।

