
यही साउन १६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रियाल रिङ्गेट’को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ । रामचन्द्र काफ्लेको स्वर तथा संगीत र साहित्यकार अमर न्यौपानेको शब्द रहेको गीतले रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा विदेशिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक यातना, बन्धक हुँदाको पीडादायी अवस्था र परिवारको सम्झनालाई सशक्त रूपमा चित्रण गरिएको छ । फिल्ममा वैदेशिक श्रम जीवनको यथार्थ चित्रण रहेको गीतबाट बुझ्न सकिन्छ ।
‘रियाल रिङ्गेट’ नाम आफैंमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरबको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको । यी दुई मुद्राको संयोजनले नेपालीहरुको श्रम गन्तव्य मुलुकलाई इंकित गर्छ । फिल्मले त्यहीँको वास्तविकतालाई चित्रण गर्ने जनाइएको छ ।
विभोर पोखरेलको निर्देशन रहेको फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मका निर्माता गगनलाल प्रधान हुन् ।

