‘झ्यानाकुटी’ जोडी सौगात मल्ल र बेनिशा हमालले दोस्रो पटक सहकार्य गरेको फिल्म ‘सिटामोल’ जनै पूर्णिमाको छेको पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । जुम्लाको कथा-व्यथामा आधारित रहेको फिल्मको टिजरदेखि गीतले दर्शकमा गहिरो प्रभाव छाडिसकेको छ । यस्तैमा चार दिनअघि सार्वजनिक ट्रेलरलाई पनि युट्युबमा उत्साहजनक प्रतिक्रिया मिलेको छ ।
१० लाख बढी भ्यूज प्राप्त ट्रेलरमा १ हजार बढी प्रतिक्रिया आएका छन्, जसमा अधिकांशले फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयको प्रशंसा गरेका छन् । कतिले ट्रेलर हेर्दा आँसु थाम्न नसकेको बताएका छन् भने कतिले ‘पूर्णबहादुरको सारङ्गी’पछि अब ‘सिटामोल’ले रुवाउने अपेक्षा राखेका छन् । ट्रेलरको अन्तिममा रहेको कवितात्मक हरफले दर्शकलाई सबैभन्दा बढी छोएको छ ।
ट्रेलरमा गाउँको परिवेश, पुराना मूल्य-मान्यता र आधुनिक यथार्थबीचको टकराव देख्न सकिन्छ । पैसाको मोहले सम्बन्धमा ल्याउने असरको कथा ट्रेलरमा छ । सौगात मल्लको पात्र संवेदनशील तर विद्रोही स्वभावको देखिन्छ । जसले आफ्नो परिवार र समाजबीच सन्तुलन खोजिरहेको छ । बेनिशा हमाल भने एक आत्मविश्वासी महिलाको भूमिकामा प्रभावशाली देखिएकी छन् ।
राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, आरआर खड्का, पवन भट्टराई, बाल कलाकारहरु करण परियार, आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय छ । फिल्ममा प्रदीप भारद्वाज र निर्देशक सानेको संयुक्त लेखन छ ।

