Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिट बन्दै ‘माग्ने राजा’को ‘सुतेर उठेको पैसामा’ गीत, टिकटकमा भाइरल

फिल्मीखबर, काठमाडौं, 2025/07/27

Kedar Ghimire

 

फिल्मलाई व्यावसायिक सफलता दिलाउन गीतसंगीतले ठूलो भूमिका खेल्ने गरेका छन् । पछिल्लो रिलिज फिल्म ‘ऊनको स्वीटर’ यसको ताजा उदाहरण हो । यो फिल्म गीतकै कारण सफल भएको मानिन्छ । तर, यसपछि प्रदर्शनका आएका कुनै फिल्मका गीत अपेक्षित चल्न सकेनन् । करिब दुई महिना पश्चात यतिबेला एउटा फिल्मको गीत चर्चामा छ, ‘माग्ने राजा’को ‘सुतेर उठेको पैसामा’ ।

६ दिनअघि सार्वजनिक भएको उक्त गीत अहिले टिकटकमा भाइरल भइरहेको छ । यो गीतमा भिडियो बनाउनेको संख्या दिनहँ उल्लेख्य रूपमा वृद्धि हुँदा त्यसले युट्युबमा भ्यूज पनि ह्वात्तै बढाएको छ । ६ दिनमा गीतलाई २१ लाख बढीले हेरिसकेका छन् । रिलिजको २ दिनसम्म गीतमा औसत भ्यूज थियो । जब टिकटकमा गीत भाइरल बन्यो, त्यसपछि युट्युब भ्यूज एकाएक बढेको हो ।

पैसालाई केन्द्रमा राखिएको ‘सुतेर उठेको पैसामा’ गीतको मेलोडी र शब्दले आम मानिसको मनोविज्ञान टपक्क समातेका कारण यो गीत दर्शकमाझ लोकप्रिय बनिरहेको हो । फिल्मको हाइप निर्माणमा पनि गीतले ठूलो भूमिका खेलेको छ । यसले फिल्मको व्यापारमा केही हदसम्म फाइदा पुग्ने देखिन्छ । फिल्मको अघिल्लो गीत ‘त्यो मीठो जोवन’ भने अपेक्षित रूपमा चल्न सकेको छैन ।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । मुनाल घिमिरेको निर्माणमा रहेको फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल लगायतले अभिनय गरेका छन् । सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी तथा मित्र गुरुङको सम्पादन छ ।