शुक्रबार युट्युबमा सार्वजनिक भएको फिल्म ‘मोहर’को ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल भएको छ । रिलिजको २४ घण्टामै ट्रेलरलाई ५ लाख बढी भ्यूज प्राप्त हुनु र नेपालसहित ७ देशमा ट्रेन्डिङमा पर्नुले फिल्मप्रति दर्शकको उत्साह उच्च रहेको देखाउँछ । अहिले फिल्मको ट्रेलर साढे ६ लाख बढी भ्यूजसहित युट्युबको मूभी ट्रेलर सेक्सन अन्तर्गत नेपालको २ नम्बरमा छ ।
त्यस्तै, मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा ५, साउदी अरबमा ११ र साउथ कोरियामा १२ औं नम्बरमा ट्रेलर ट्रेन्डिङ भइरहेको छ । दर्शकबाट ट्रेलरलाई प्रतिक्रिया पनि उत्साहजनक मिलेको छ । साढे तीन हजार बढी प्रतिक्रिया प्राप्त ट्रेलरमा अधिकांशले फिल्मले उठाएको विषयवस्तु र कलाकारहरुको अभिनयको प्रशंसा गरेका छन् ।
३ मिनेट लामो ट्रेलरमा प्रेम, धोका, बदला, द्वन्द्व जस्ता पक्ष समेटिएको छ । देउकी कुप्रथा (बाइसे राज्यको समयमा मन्दिरमा देवी-देवताको सेवा गर्न कन्या केटी चढाउने प्रचलन)को कथालाई केन्द्रमा राखिएको ट्रेलरमा भावनात्मक उतारचढावहरू पनि देखिन्छ । अभिनेता पल शाहको दुई फरक गेटअप र अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहसँगको प्रेमले कथामा रहस्य थपेको छ ।
जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मोहर’लाई ओम प्रतिकको लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा पल, बेनिशा र नीतिसहित अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् ।

