.jpg)
यतिबेला अभिनेता प्रदीप खड्का अमेरिकामा छन् । आफ्नो नयाँ फिल्म ‘ऐरी’को पहिलो चरणको छायांकन सकाएर उनी यसै साता अमेरिका उडेका हुन् । उनी अमेरिका जानुको पछाडि दुईवटा उद्देश्य छ । एउटा, २ अगस्ट (साउन १७ गते) न्यूयोर्कमा हुने ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को फिनालेमा जज बन्न । दोस्रो, आफ्नो फिल्म ‘एक्टरः टेन वान’को अमेरिका प्रदर्शनमा सहभागी हुन ।
खासमा ‘एक्टरः टेन वान’को अमेरिका प्रदर्शन पहिला तय थिएन । जब प्रदीप ‘मिस नेपाल नर्थ अमेरिका २०२५’मा जज बन्न अमेरिका जाने निश्चित भयो, त्यसपछि फिल्मलाई त्यहाँ विशेष प्रदर्शन गर्ने वातावरण बनाइएको हो । प्रदीपको कम्पनी लिभेन्जसँग यो फिल्मको अमेरिका र क्यानडाको वितरण अधिकार रहेकाले पहिलो चरणमा फिल्मलाई अमेरिकामा प्रदर्शन गर्न लागिएको हो ।
सौन्दर्य प्रतियोगितामा जज बन्नुअघि प्रदीप सान फ्रान्सिस्को, कोलोम्बिया, बोस्टन, बाल्टिमोर, टेक्सास जस्ता अमेरिकी सहरमा हुने फिल्मको विशेष शोमा सहभागी हुनेछन् । यसरी हेर्दा प्रदीपको हकमा अमेरिका भ्रमण ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भन्ने उखानजस्तै भएको छ । एकैपटकमा भ्रमण र आम्दानी दुवै हुने । उनले ‘मार्केटिङ’मा मास्टर्स गरेको बल्ल काम लागेको देखिन्छ ।
कामको कुरा गर्दा प्रदीपले भदौपछि बहुभाषिक फिल्म ‘ऐरी’को छायांकन सकाउनेछन् । त्यसपछि उनले निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ-विवाह’ गरेर निर्माता थमन कुमार भण्डारीको फिल्म ‘लोभीपापी’लाई समय दिने जनाइएको छ । गत वर्ष उनका ‘पूजार सार्की’, ‘एक्टरः टेन वान’, र ‘पिताम्बर’ गरी तीनवटा फिल्म प्रदर्शन भएका थिए । त्यसमध्ये ‘पूजार सार्की’ मात्र सफल भयो ।

