.jpeg)
यही साउन १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘रियाल रिङ्गेट’ले गीत र ट्रेलर रिलिजपछि कलेज केन्द्रित प्रचार अभियान सुरु गरेको छ । लक्षित समूहका दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरुप अहिले फिल्मका कलाकारदेखि गायकसम्म काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फिल्मबारे जानकारी गराउन व्यस्त छन् ।
फिल्मको कलेज केन्द्रित प्रचार अभियानमा निर्देशक विभोर पोखरेल, गायक रामचन्द्र काफ्ले, कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको सहभागिता रहेको छ । उनीहरू विनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमी लगायतका शिक्षण संस्थामा पुगिसकेका छन् ।
यो प्रचार अभियानको विशेषता भनेको कविता र गीतको संयोजन हो । कवि रायनले आफ्नै लेखनका मार्मिक कविताहरू प्रस्तुत गर्दा गायक काफ्लेले त्यसमा संगीत र स्वरमार्फत विद्यार्थीहरूलाई मन्त्रमुग्ध बनाइरहेका छन् । फिल्मको सन्देशलाई कविता वाचन र गीतमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरिएको निर्देशक पोखरेलले बताए ।
‘द पोइट आइडल’मा सहभागी भएपछि चर्चामा आएका कवि रायनले ‘रियाल रिङ्गेट’का लागि विशेष कविता रचना तथा वाचन समेत गरेका छन्, जुन टिजर र ट्रेलरमा पनि सुन्न सकिन्छ । नेपाली फिल्ममा कमै प्रयोग हुने कविता विधालाई यस फिल्मले विशेष प्राथमिकता दिएको देखिन्छ । गायक काफ्लेले फिल्मका लागि गाएको ‘तिम्रा बाले ज्वाइँ खोजे’ गीत अहिले चर्चामा छ ।
.jpeg)
वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपरेका सङ्घर्ष र पीडाको चित्रण गरिएको फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । गगनलाल प्रधानको लगानीमा बनेको यो फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् । फिल्ममा हरि घलेको छायाङ्कन तथा विपिन मल्लको सम्पादन रहेको छ ।

