
विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा उपस्थिति जनाएपछि गत वर्ष नेपालमा प्रदर्शन भएको फिल्म ‘पूजा, सर’ (राजागंज) बुधबारबाट युरोपियन राष्ट्र फ्रान्समा रिलिज भएको छ । फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनका अनुसार फ्रान्सका ६२ हलमा एकैपटक फिल्म रिलिज भएको हो । फिल्मले हलमा दर्शक र समीक्षा दुवै राम्रो पाइरहेको कम्पनीले जनाएको छ ।
उक्त कम्पनीकी सह-उत्पादन प्रमुख मिशेल हाल्बस्टाडले भनेकी छन्, ‘यो एउटा यस्तो फिल्म हो, जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै लैजान्छ । यसअर्थमा, यो अप्रत्याशित र आकर्षक छ । हामी फ्रान्सका दर्शकहरूलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुशी छौं ।’ एआरपी सेलेक्सन फ्रान्सको अग्रणी फिल्म वितरण कम्पनी हो ।
फ्रान्सअघि ‘पूजा, सर’लाई गत मे महिनामा स्विजरल्याण्डका हलमा प्रदर्शन गरिएको थियो । तीन महिना वितिसक्दा पनि अझै ५ वटा सहरमा फिल्म चलिरहेको निर्देशक दीपक रौनियारले जानकारी दिए । अब अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनको तयारी गरिएको छ । त्यसका लागि यसै साता मेलबर्नस्थित ‘स्क्रिनएक्सकोप’ले फिल्मको वितरण अधिकार खरिद गरेको छ ।
फिल्मको ब्याकग्राउण्ड स्कोर (साउण्ड ट्रयाक) स्पोटिफाई, अमेजन प्राइम, युट्युब जस्ता प्लाटफर्मबाट २४३ देशमा रिलिज भएको पनि निर्देशक रौनियारले बताएका छन् । हङकङ र लण्डन कार्यालय भएको ‘प्लाजा मेयर कम्पनी’ले अर्काड सोनी म्युजिकको प्लाटफर्मबाट फिल्मको ब्याकग्राउण्ड स्कोर रिलिज गरेको हो ।
‘पूजा, सर’मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, ऋचा शर्मा, गौमाया गुरूङ लगायतको अभिनय रहेको छ । सन् २०२४ मा पहिलो पटक भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, ह्याम्बर्ग, मुम्बई, गोथेनबर्ग जस्ता विश्वका थुप्रै प्रतिष्ठित फेस्टिभलमा स्क्रिनिङ भइसकेको छ ।

