Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जेरी अन टप’ असोज ३१ गते आउने, पोस्टरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/07/24

Jerry

 

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ तिहारको संघारमा रिलिज हुने भएको छ । बिहीबार निर्माताले फिल्मको तीनवटा पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्म रिलिजको २ दिनपछि अर्थात् कात्तिक २ गतेबाट तिहार सुरु हुनेछ । तिहार विदा भने कात्तिक ३ गते (लक्ष्मीपूजा)बाट छ । 

सार्वजनिक तीन पोस्टरमध्ये एउटामा अनमोललाई केन्द्रमा राखिएको छ । ज्याकेट र ऊनको टोपी लगाएका उनको शरीरभरि हिउँ परेको छ भने गाला चिसोले रातो भएको छ । सोही पोस्टरमा अनमोल र अभिनेत्री जसिता गुरुङ डोरीको सहारामा हिमाल चढिरहेका देखिन्छन् । यसले हिमाल आरोहण गर्ने पात्रको कथामा फिल्म आधारित रहेको बुझाउँछ ।

त्यस्तै, दोस्रो पोस्टरमा अनमोल र जसितालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा उनीहरु आरोहीको भेषमा हिमालको चुचुरोबाट कहीँ टाढा हेरिरहेका देखिन्छन् । तेस्रो पोस्टरमा अभिनेत्री आँचल शर्मासँग अनमोल प्रेमिल भावमा देखिएका छन् । यी दुई पोस्टरले फिल्ममा त्रिकोणात्मक प्रेमकथा रहेको संकेत गर्छ । 

सुयोग गुरुङको निर्देशनमा बनेको फिल्मका निर्माता सरोज न्यौपाने हुन् । फिल्मको निर्माणमा सरोजलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले सघाएका छन् । हेमराज विसीको कथा र विश्व तिमल्सेनाको पटकथा रहेको फिल्ममा दुलिप रेग्मीको डीओपी तथा निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ ।