
नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘एक्लो : वान’को केही महत्त्वपूर्ण दृश्य मंगलबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खिचिएको छ । फिल्मका प्रमुख अभिनेता विजय लामा र अभिनेत्री दीया पुन सहभागी भएको छायांकन करिब ६ घन्टा चलेको थियो । पनौतीमा खिचिएको दृश्य फिल्ममा जम्मा तीन मिनेटको हुने निर्देशक प्रदीप शाहीले बताए ।
छायांकन सेटबाट प्राप्त तस्वीरमा कार र साइकल दुर्घटना भएको दृश्य देखिन्छ । त्यसपछि मानिसहरुको भीडभाड र दीयालाई विजय लामा र एक बाल कलाकारले समाएर हिँडाएको देख्न सकिन्छ । सट बिग्रिँदा उक्त दृश्यमा कलाकारहरुले पटकपटक अभिनय गर्नुपरेको थियो । यो दृश्यले फिल्मको कथा अघि बढाउन महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्ने निर्देशक शाहीले बताए ।
आगामी पुष महिनामा प्रदर्शन हुन लागेको ‘एक्लो’मा विजय र दीयासँगै प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहेको छ । फिल्मको यतिबेला बेलायतमा पोस्ट–प्रोडक्सन काम भइरहेको छ ।

फिल्मको निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । गत मेमा भएको विश्वविख्यात कान्स फेस्टिभलमा स्टल नै राखेर ‘एक्लो’को प्रचार गरिएको थियो ।

