Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रिमै’ टिजर : दयाहाङ र रिश्माबीच प्रेम, वियोगमा अर्पण

फिल्मीखबर, काठमाडौं, 2025/07/22

Dayahang Rai, Rishma Gurung, Arpan Thapa

 

खिल बहादुर गुरुङको निर्देशन तथा ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको लेखनमा बनेको फिल्म ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । झन्डै २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे केही संकेत गर्छ । गुरुङ समुदायको परम्परा र लाहुरे संस्कृतिमा आधारित भएर फिल्मले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको टिजरबाट बुझ्न सकिन्छ ।

फिल्मका दुई मुख्य पात्र दयाहाङ राई र रिश्मा गुरुङबीच विवाह भएपछि अर्का पात्र अर्पण थापा वियोगमा देखिएका छन् । उनी घोडाबाट सामान ढुवानी गर्ने पात्रको भूमिकामा छन् । उनको रहस्यमयी चरित्र हेर्दा फिल्मको केन्द्रीय द्वन्द्व नै अर्पणको पात्र रहेको अनुमान गर्न सकिन्छ । दयाहाङ लाहुर गएर गाउँ फर्किएको दृश्यपछि टिजरले विट मारेको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ, रिश्मा र अर्पणसहित बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ, बाल कलाकारहरु असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । फिल्ममा वीरवल घले कार्यकारी निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । दीपक शर्मा र थानेश्वर गौतमको संगीत तथा मित्र डि गुरुङको सम्पादन रहेको यो फिल्म भदौ २० गतेबाट प्रदर्शन हुँदैछ ।