Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थ्रिलर कथामा ‘होस्टेल’को चौथो श्रृंखला बन्ने

फिल्मीखबर, काठमाडौं, 2025/07/21

hostel aggain

 

नयाँ कलाकार उत्पादन गर्ने सिरिजका रुपमा चिनिएको फिल्म ‘होस्टेल’को चौथो श्रृंखला पनि निर्माण हुने भएको छ । गत वर्षको फागुनमा प्रदर्शन भएको ‘होस्टेल ३’ व्यावसायिक रुपमा सफल भएपछि सोही समूहले ‘होस्टेल अगेन’ शीर्षकमा फिल्म बनाउन लागेको हो । सोमबार निर्माताले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।

पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूल र आधा च्यातिएको डायरीको पानालाई थिचेको देखिनुले यो फिल्म ‘होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाभन्दा फरक हुने अनुमान गर्न सकिन्छ । चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वलाई दर्शाउँछ । निर्देशक सशान कँडेलका अनुसार फिल्म थ्रिलर र सस्पेन्स कथामा बन्नेछ । यसअघि उनले ‘होस्टेल ३’ निर्देशन गरेका थिए ।

फिल्ममा निर्देशक कँडेलसँगै लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला पनि दोहोरिएका छन् । अघिल्ला श्रृंखलाले झैं ‘होस्टेल अगेन’ले पनि नयाँ प्रतिभाहरूलाई जन्माउने अपेक्षा गरिएको छ । फिल्ममा कलाकारहरू भने तय भएका छैनन् । 

‘होस्टेल ३’ रिलिजपछि यसको निर्माण समूहले गत चैतमा ‘बाउ भर्सेज छोरा’ नामक फिल्म पनि घोषणा गरेको थियो । तर, यसमा अनुबन्ध भएका पदम तामाङसहितका कलाकारहरूको समय व्यस्तताका कारण उक्त फिल्म अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए । उनका अनुसार ‘होस्टेल अगेन’ भने यसै वर्ष बन्नेछ ।