ऋषिपञ्चमीको दिन पारेर आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कोशोढुङ्गा’को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक तीज भाकाको उक्त गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दीपिका मगरको स्वर, नेत्र अर्यालको शब्द रचना तथा गायक सेन्चुरी स्वयंको हुकलाइन र संगीत छ ।
तीजको सेटअपमा तयार पारिएको गीतको भिडियोमा फिल्मका तीन मुख्य अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त र नीति शाह नृत्य गर्दै देखिएका छन् । अविवाहित र विवाहित महिलाको भावना, अनुभव, भोगाइ र अनुभूतिलाई गीतमा प्रस्तुत गरिएको छ । ऋचा सिउँदोमा सिन्दूर र गलामा पोते लगाएर देखिएकी छन् भने सुरक्षा र नीति अविवाहित देखिन्छन् ।
कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको यो फिल्ममा ऋचा, सुरक्षा र नीतिसहित आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा लगायतको अभिनय रहेको छ । यो फिल्म महिलाप्रधान कथावस्तुमा आधारित छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ भने बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, सुप्रिम पराजुलीको रंग संयोजन तथा स्मृति तिमल्सेना र सुमन सागर जंग केसीको कोरियोग्राफी छ । फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

