Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमा ‘सैयारा’को धमाका, तीन दिनमा ८५ करोड कमाइ

एजेन्सी, काठमाडौं, 2025/07/21

Saiyaara has become a rare phenomenon!”: Exhibitors hail Yash Raj Films' &  Mohit Suri's Saiyaara as a historic debutant launch that will break all  existing records : Bollywood News - Bollywood Hungama

 

न फ्रेन्चाइज फिल्म । न कुनै स्टार कलाकार । न कुनै पर्वमा रिलिज । न प्रचारका लागि कुनै सहरको भ्रमण या मिडिया अन्तर्वार्ता । यसका बाबजूद पनि भारतीय बक्स अफिसमा फिल्म ‘सैयारा’ले धमाका मच्चाएको छ । गीतको लोकप्रियता र ट्रेलरले बनाएको ‘हाइप’ले फिल्मलाई नसोचेको ओपनिङ दिलायो । यो सन् २०२५ को सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने चौथो फिल्म बनेको छ ।

‘सैयारा’ले झन्डै २२ करोडको ओपनिङ गरेको थियो । दोस्रो दिन फिल्मको व्यापार झन् आक्रामक रह्यो । शनिबार फिल्मले २६ करोड २५ लाखको व्यापार गरेको थियो । आइतबारको सार्वजनिक विदामा फिल्मले भारतीय बक्स अफिसमा थप उछाल कायम गरेको छ । फिल्मले तेस्रो दिन ७५-८० प्रतिशत अकुपेन्सीसहित ३७ करोड कमाइ गरेको ट्रेड पोर्टल ‘स्याकनिल्क’ले जनाएको छ ।

योसँगै फिल्मको तीन दिनको कुल व्यापार ८५ करोड पुगेको छ । यो नेट कमाइ हो । ४५ करोडको लागतमा बनेको फिल्मले दुई दिनमै लगानी सुरक्षित गरेर मुनाफासहित ‘हिट’को ट्याग पाइसकेको छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा यसको कमाइ २ सय करोड नाघ्ने देखिन्छ । सोमबारको कमाइबाट फिल्मले एक सय करोडको आँकडा नघाउन सक्ने ट्रेड एनालिस्टहरुको प्रक्षेपण छ ।

प्रदर्शनको तीन दिनमा ‘सैयारा’ले कमाइको मामलामा बलिउडका ठूला स्टारका ६ वटा फिल्मलाई पछि पारिसकेको छ । ‘रेड २’, ‘स्काइ फोर्स’, ‘जाट’, ‘सितारे जमिन पर’, ‘केशरी च्याप्टर २’ र ‘भूल चुक माफ’ले तीन दिनमा गरेको कमाइभन्दा ‘सैयारा’को बढी छ । सोमबार (आज) को कमाइबाट यो फिल्मले सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को चार दिने कलेक्सनलाई पनि उछिन्नेछ ।

‘आशिकी २’, ‘एक भिलेन’ जस्ता फिल्मका निर्देशक मोहित सूरीको निर्देशनमा बनेको यो म्यूजिकल ड्रामामा अहान पाण्डे र अनीत पड्डा मुख्य भूमिकामा छन् । दुवैको यो डेब्यु फिल्म हो । तर, पहिलो फिल्म भए पनि उनीहरु अभिनयमा सशक्त देखिएका छन् । अहान बलिउड अभिनेता चंकी पाण्डेका भतिज हुन् । उनले डेब्युपूर्व तीनवटा फिल्ममा सहायक निर्देशक भएर काम गरेका थिए ।