Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाभोज’ हेरेपछि प्रचण्डले के भने ?

फिल्मीखबर, काठमाडौं, 2025/07/21

puspakamal dahal

 

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले करिब २ वर्षपछि हलमा गएर नेपाली फिल्म हेरेका छन् । पछिल्लो पटक २०७९ सालमा चितवनमा ‘प्रेमगीत ३’ हेरेका उनले आइतबार साँझ कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिज पुगेर फिल्म ‘महाभोज’ हेरे । उनको साथमा माओवादी केन्द्रका अन्य नेताहरू पनि थिए ।

‘महाभोज’ हेरेपछि प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै फिल्मले यथार्थको सहासिक चित्रण गरेको बताए । उनले भने, ‘अहिलेको नेपाली समाजको, नेपाली राजनीतिको, सहकारी आन्दोलनबारे यो फिल्मले यथार्थको सहासिक चित्रण गरेको छ । म स्क्रिप्ट राइटर, निर्देशक, कलाकार सबैलाई धन्यवाद भन्न चाहन्छु ।’ 

आजको परिस्थितिमा यत्तिको फिल्म बनाउने हिम्मत जो कोहीले गर्न नसक्ने बताउँदै प्रचण्डले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जालमा पनि एक पोस्ट गर्दै फिल्म चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको बताएका छन् । परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादविरुद्ध लड्ने साहस राख्छन् भन्ने सन्देश फिल्मले दिएको उनले बताए ।

उनी लेख्छन्, ‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन् । ‘देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो फिल्मले दिन खोजेको छ ।’

प्रचण्डले आजको पुस्ताले यो फिल्म हेरेर यसको गहिरो भाव बुझ्न पनि अपिल गरेका छन् । ‘महाभोज’ सहकारी ठगीको कथामा बनेको फिल्म हो । यसमा मुख्य पात्र दयाहाङ राई माओवादी लडाकु पृष्ठभूमिका छन् । यही कारण प्रचण्डसहितका नेताहरुले फिल्म हेर्न चासो देखाएपछि विशेष शो आयोजना गरिएको थियो । यो फिल्म गत जेठ अन्तिममा रिलिज भएको थियो ।