कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । गत साता फिल्मको टिजर सार्वजनिक गरिएको थियो, जसले युट्युबमा भ्यूज र प्रतिक्रिया दुवै राम्रो पाएको छ । १३ लाख बढी भ्यूज प्राप्त टिजरलाई उल्लेख्य मात्रामा सकारात्मक प्रतिक्रिया मिलेको छ ।
एक हजार बढी प्रतिक्रियामा विजयको अभिनय र टिजरका दृश्यको प्रशंसा मात्र छ । कतिले विजयले फेरि रुवाउने भए भन्दै प्रतिक्रिया जनाएका छन् भने कतिले टिजरलाई भावनात्मक र अर्थपूर्ण भनेका छन् । टिजरको आधारमा फिल्म सुपरहिट हुने दाबी पनि धेरैले गरेका छन् । यसरी हेर्दा दर्शकलाई फिल्मप्रति उत्सुकता जगाउन टिजर सफल भएको देखिन्छ ।
टिजरले युट्युबमा आफ्नो पकड पनि बलियो बनाएको छ । अहिले युट्युब ट्रेन्डिङको चौथो स्थानमा टिजर स्ट्रिमिङ छ । रिलिजको २४ घन्टामै टिजरले युट्युबमा १० लाख भ्यूज कटाएको थियो । टिजरलाई प्राप्त भ्यूज र प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ । फिल्मका निर्देशक हिमाल न्यौपानेले अब अन्य गीत र ट्रेलर अझ उत्कृष्ट निकाल्नुपर्ने चुनौती थपिएको बताएका छन् ।
टिजर अनुसार ‘जनै हराएको मान्छे’ एक युवाको सपना, संघर्ष र सम्बन्धमा आउने उतारचढावको कथामा आधारित रहेको देखिन्छ । विजय बराललाई बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर पसेको एक महत्त्वाकांक्षी युवाको भूमिकामा देखाइएको छ । सहरको कठिन जीवनशैली, प्रेमको सुरुवात र दिदीसँगको भावनात्मक द्वन्द्वले कथावस्तु गहिरो रहेको संकेत टिजरले गर्छ ।
‘सम्बन्धका धागाहरू’ उपशीर्षक राखिएको फिल्ममा विजयसहित केकी अधिकारी, मिरु मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतको अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।

