वर्षेनि चाडपर्वमा नेपाली फिल्म रिलिजको बाढी नै आउने गर्छ । तर, मनसुनी महिना असार र साउनमा भने रिलिजको चाप ह्वात्तै घट्ने गरेको छ । वर्षाले व्यापार प्रभावित हुने भयले निर्माताहरू हत्तपत्त यी दुई महिना फिल्म रिलिज गर्नै चाहँदैनन् । यसपटक पनि यही अवस्था रह्यो । गत असारमा जम्मा एउटा फिल्म रिलिज भयो । साउनमा भने तीनवटा फिल्म प्रदर्शन हुने तयारीमा छन् ।
असारबाहेक बैशाख र जेठमा फिल्म रिलिजको चाप राम्रो थियो । यो दुई महिनामा झन्डै एक दर्जन फिल्म रिलिज भए । जसले गर्दा हलमा नेपाली फिल्मको अभाव देखिएन । तर, असारदेखि फिल्म रिलिज ठप्पजस्तै हुँदा यतिबेला विदेशी फिल्महरूले हल भरिएका छन् । अहिले एक दर्जन विदेशी फिल्महरू प्रदर्शनरत छन् भने नेपाली फिल्म मात्र दुईवटा छन्, त्यो पनि सीमित हलमा ।
गत बैशाखको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’लाई अझै केही हलहरूले चलाइरहेका छन् । असार अन्तिमको फिल्म ‘यो मन त मेरो नेपाली हो’ पनि एकाध हलमा प्रदर्शन भइरहेको छ । यसबाहेक हलहरूमा सबै विदेशी फिल्म छन् । त्यसमध्ये शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘सैयारा’मा दर्शकको राम्रो चाप देखिन्छ । शुक्रबार र शनिबार यो फिल्मले आकर्षक कमाइ गर्यो ।
‘सैयारा’सहित नेपालका हलमा भारतीय फिल्महरू ‘निकिता रोय’, ‘तान्भीः द ग्रेट’, ‘मालिक’, ‘मेट्रो इन दिनो’, ‘सितारे जमिन पर’, ‘माँ’ र ‘कनप्पा’ प्रदर्शनरत छन । त्यस्तै, हलिउड फिल्मतर्फ ‘आइ नो ह्वाट यू डिड लास्ट समर’, ‘सुपरम्यान’, ‘जुरासिक वर्ल्ड रीबर्थ’ र ‘एफ वान : द मुभी’ प्रदर्शन भइरहेका छन् । यसरी हेर्दा हलमा फिल्मको अभाव देखिँदैन । अभाव छ त मात्र नेपाली फिल्मको ।
अब एकैपटक साउन दोस्रो साता अर्थात् १६ गते मात्र नेपाली फिल्म हलमा लाग्नेछ । त्यो फिल्म हो, ‘रियाल रिङ्गेट’ । यसपछि साउन २३ गते ‘सिटामोल’ र ‘मोहर’ प्रदर्शन हुँदैछन् । मनसुनका कारण असार र साउनमा फिल्म रिलिजको चाप कम भए पनि भदौदेखि हलहरू नेपाली फिल्मले भरिभराउ हुनेछन् । आगामी मंसिरसम्म हरेक महिना आधा दर्जन बढी फिल्म प्रदर्शन हुँदैछन् ।

